काठमाडौँ । भारी हिमपातका कारण बुधबारदेखि अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक आज बिहानदेखि सञ्चालन भएको छ । जिल्ला प्रशासन कार्यालय र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको पहलमा अवरुद्ध सडक सञ्चालनमा ल्याइएको हो ।
मंगलबार राति भारी हिमपातका कारण मुक्तिनाथ जाने १२ किलोमिटर कालोपत्र सडक पूर्ण रुपमा अवरुद्ध हुन पुगेको थियो । बिहीबार दिउँसोदेखि जिल्ला प्रशासन कार्यालय र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको अनुरोधमा मुक्तिनाथ (जोमसोम–कोरला) सडक आयोजनाको स्काभेटर परिचालन गरिएको छ ।
भारी हिमपातका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउन जिल्ला सुरक्षा समितिको टोलीसहित स्थानीय जनप्रतिनिधि खटिएको र कोरला सडक आयोजनाको डोजर लगेर अवरुद्ध सडकको हिउँ पन्छ्याएर सडक खुलाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए ।