काठमाडौँ । कञ्चनपुर पछिल्लो समय लागूओषधको आखडा बन्दै गईरहेको छ । जिल्ला प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा मात्र लागूऔषधसहित १० जना पक्राउ गरेको छ ।
लागूऔषधको कारोबार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्लाको भीमदत्त नगरपालिका–१३ बडैपुर स्थित खर प्लाष्टिक र काठबाट बनेको खाली झुपडीबाट सोही ठाउँ बस्ने २४ वर्षीय प्रदिप लुहार सहित १० जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ।
उक्त झुपडीको कोठा भित्र बसी लागूऔषध सेवन तथा कारोबार गरिरहेको अवस्थामा फेला पारि उनीहरुको शरिर तथा झुपडी खानतलासी गर्दा ११ दशमलव ३७ ग्राम लागूऔषध खैरो हेरोइन र ५ वटा प्रतिवन्धित क्याप्सुल तथा लागूऔषधमा प्रयोग हुने अन्य सामान फेला परेको प्रहरीले जनाएको छ। दश जनालाई इलाका प्रहरी कार्यालय गड्डाचौकी र प्रहरी चौकी झोलुङ्गे, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बिहीवार नियन्त्रणमा लिएको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।