बारा - बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–१६, काशघाट स्थित पूर्व–पश्चिम राजमार्गको जंगल क्षेत्रमा एक विद्युत सवारीसाधनमा आगलागी भएको छ।
माघ ३ गते बिहान करिब ३ः३० बजे पोखराबाट काकरभिठ्ठातर्फ जाँदै गरेको नेपाल यातायात प्रा.लि. काकरभिठ्ठाबाट सञ्चालित प्र.१-०१-००१ ख ४७२० नम्बरको फोटोन कम्पनीको सवारीमा अचानक आगो लागेको हो। उक्त सवारीमा चालकसहित १४ जना यात्रु सवार थिए।
आगलागी भएलगत्तै चालकले सतर्कतापूर्वक सवारी सडक छेउमा रोकी सबै यात्रुलाई सुरक्षित रूपमा बाहिर निकाल्न सफल भए। घटनामा कुनै मानवीय क्षति भएको छैन। सबै यात्रुलाई वैकल्पिक सवारीमार्फत गन्तव्यतर्फ पठाइएको थियो।
बिहान करिब ४ः३० बजे यात्रुबाट जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय निजगढ, बारा बाट ५ जनाको टोली तत्काल घटनास्थलमा खटेको थियो। प्रहरी टोली पुगेपछि सवारी पूर्ण रूपमा जलेको तर आगो नियन्त्रणमा आएको अवस्था देखिएको थियो।
आगलागीको कारण अझै स्पष्ट भएको छैन र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।