काठमाडौँ । काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका थारु समुदायले टुँडीखेलमा दुई दिन माघी महोत्सव मनाउने भएका छन्। थारु कल्याणकारिणी सभाको संयोजनमा र विभिन्न थारु संघसंस्थाहरुको संयुक्त आयोजनामा पुस ३० गते र माघ १ गते महोत्सव हुने आयोजकले जानकारी दिएका छन्।
थारु भाषा, संस्कृति र जनचेतनाको प्रवर्द्धनको उद्देश्यका साथ आयोजित यस महोत्सवका संयोजक प्रेमीलाल चौधरीले जानकारी दिए। माघी महोत्सवको उद्घाटन प्रधानमन्त्री सुशीला कार्कीले गर्ने कार्यक्रम रहेको आयोजकले बताएको छ। मुख्य कार्यक्रमअघि माघ १ गते थारु संस्कृति, भेषभूषा, बाजागाजासहित बसन्तपुरमा भेला भएर झाँकी र्यालीसहित विभिन्न स्थानको परिक्रमा गरी टुँडीखेलमा सहभागी हुने योजना छ।
‘थारु कला संस्कृति हाम्रो परिचय, यसलाई संरक्षण र संवर्द्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको महोत्सवमा थारु खानाका परिकार, प्रदर्शनी एवं बिक्री, थारु सीप हस्तकला, पुस्तक प्रदर्शनीलगायत करिब १०० भन्दा बढी स्टलहरू रहने बताइएको छ। त्यसैगरी महोत्सवमा थारु सांस्कृतिक नृत्य तथा गीत जस्तै मघौटा, सखिया, हुर्दगंवा, झुम्रा, छोक्रा, दिन्नचुवा, रागनी, बडोनाच, होरी, झर्रा, लठ्हवा र मुग्रंहवा नाँच प्रदर्शन गरिने आयोजकले जानकारी दिएका छन्।