काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी निर्वाचन २०८२ का लागि अध्यक्ष पदका उम्मेदवार दिपकराज भुसालले २६ बुँदे कार्ययोजना सार्वजनिक गरेका छन्। इक्यानको संस्थागत विकास र शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित बनाउने लक्ष्यसहित ती एजेन्डा सार्वजनिक गरिएको उनले बताए।
आफ्नो समूहको उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै भुसालले शैक्षिक परामर्श क्षेत्रको व्यवस्थापन, बजार नियमन, शाखा विस्तार, नीतिगत सुधार तथा इक्यानलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने विषयलाई कार्ययोजनाको मुख्य प्राथमिकतामा राखिएको जानकारी दिए। उनले भने, २०२६ को सुरुवातसँगै हाम्रो समूहले २६ बुँदे एजेन्डा सार्वजनिक गरेको छ। यी एजेन्डाहरूले शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित गर्न, बजार व्यवस्थापन गर्न र इक्यानलाई विश्वस्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेल्नेछ। करिब १२ वर्षदेखि इक्यानमा निरन्तर सक्रिय रहँदै आएको उल्लेख गर्दै भुसालले इक्यान आफूलाई केवल संस्था नभई बानी र पहिचानको रूपमा विकसित भएको बताए।
आगामी कार्यकालमा पूर्ण समय इक्यानकै गतिविधिमा समर्पित हुने र आवश्यक परे जुनसुकै समयमा उपलब्ध रहने प्रतिबद्धता पनि उनले व्यक्त गरे। भुसालको समूहबाट सदस्य पदमा विवेक बस्नेत, उद्धव वन, संजीव पाण्डे, नवराज नेपाल, कमल तिम्सिना र दामोदर शर्मा उम्मेदवार छन्। केन्द्रीय सदस्यमा बसन्त पाण्डे, अशोककुमार हाथी र अनन्तराज घिमिरे, सह–कोषाध्यक्षमा गोविन्द खनाल र उमा खड्का पाठक,सचिवमा सुरज सिलवाल र आशिक कार्की, महासचिवमा भवनाथ हुमागाईं तथा उपाध्यक्षमा रत्नबहादुर भट्टराई, मन्जित ढकाल र विकल्पराज पोखरेल उम्मेदवार रहेका छन्।