काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको एकतामा कुलमान घिसिङ पछि हटेपछि उत्पन्न राजनीतिक सन्दर्भमा सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गरेका छन्। उनले युवानेताहरूलाई आपसी विवाद र तानातान छोडेर एकताबद्ध भएर अघि बढ्न आग्रह गर्दै, सहकार्य नगरे आफू एक्लै अघि बढ्ने संकेत दिएका छन्।
शिक्षामन्त्री पुनले सामाजिक सञ्जालमा लेखेको पोस्टमा युवानेताहरूको भूमिकामाथि प्रश्न उठाएका छन्। प्रधानमन्त्री पदको आकांक्षालाई लिएर युवानेताहरू आपसमा तानातानमा लागेको भन्दै उनले यस्तो प्रवृत्तिले पुराना नेताहरूको जस्तै बाटो दोहोरिने चेतावनी दिएका छन्। “आफ्नो खुट्टामा आफैं बन्चरो नहानौँ,” भन्दै पुनले अहिले फुटेर होइन, जुटेर अघि बढ्ने समय भएको उल्लेख गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन् कि यदि युवानेताहरू पुरानै शैलीमा विभाजित हुँदै जाने हो भने आफू भने त्यस बाटोमा नहिँड्ने स्पष्ट पारेका छन्। पुनले एकताको प्रयास सफल भए सँगै अघि बढ्ने र यदि त्यो सम्भव नभए आफू स्वतन्त्र रूपमा अघि बढ्ने धारणा राखेका छन्। “तिमीहरू यस्तै पाराले अघि बढ्यौ भने म चाहिँ अगाडि बढ्छु,” भन्ने भाव उनको अभिव्यक्तिमा झल्किन्छ।
रास्वपासँगको एकतामा कुलमान घिसिङ पछि हटेपछि राजनीतिक वृत्तमा विभिन्न विश्लेषण भइरहेका बेला पुनको यो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ। कतिपयले यसलाई युवापुस्ताको राजनीतिप्रति बढ्दो निराशाको संकेत मानेका छन् भने कतिपयले पुनले नेतृत्वको वैकल्पिक बाटो खोज्न थालेको संकेतका रूपमा व्याख्या गरेका छन्।
शिक्षामन्त्री पुनले स्पष्ट रूपमा कसैको नाम नलिए पनि उनको सन्देश युवानेताहरूबीच बढ्दै गएको आन्तरिक मतभेदप्रति लक्षित रहेको बुझाइ राजनीतिक वृत्तमा गरिएको छ। एकताबिना परिवर्तन सम्भव नहुने र पुरानै प्रवृत्ति दोहोरिए परिवर्तनको सपना अधुरो रहने चेतावनीसहित पुनले साझा उद्देश्यका लागि मिलेर अघि बढ्न पुनः आग्रह गरेका छन्।