काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आइतबार हुने निर्वाचनको लागी दुई समूहबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । नेतृत्वमा दाबी गर्ने दुवै समूहले आ–आफ्ना उम्मेदवारसहित कार्यक्रमहरू सार्वजनिक गर्दै चुनावी माहोल बनाइरहेका छन् । लक्ष्मण पौडेल नेतृत्वको समूह र दिपकराज भुसाल नेतृत्वको समूहले आजै आआफ्ना उम्मेदवारहरूको औपचारिक घोषणा कार्यक्रम आयोजना गरेको छ ।
पौडेल नेतृत्वको समूहले ‘सक्षम नेतृत्व, सशक्त इक्यान’ भन्ने नारासहित आफ्नो प्रतिबद्धता घोषणा सभा आयोजना गर्ने भएको छ । शनिबार साँझ ५ बजेदेखि काठमाडौँको गैरीधारास्थित एलिस रिसेप्सनमा हुने उक्त कार्यक्रममा एजेन्डा प्रस्तुतिसँगै नेतृत्व प्रतिबद्धता सार्वजनिक गरिने जनाइएको छ । यस्तै, दिपकराज भुसाल नेतृत्वको समूहले लाजिम्पाटस्थित र्याडिसन होटलमा साँझ ६ बजे स्वागत कार्यक्रम सुरु भई ६ः३० बजे उम्मेदवारी घोषणा गरिने जनाएको छ ।
इक्यानको आगामी नेतृत्वका लागि दुवै समूह सक्रिय रूपमा मैदानमा उत्रिएसँगै निर्वाचनको प्रतिस्पर्धा रोचक बन्ने संकेत देखिएको छ । शैक्षिक परामर्श क्षेत्रको नीति, संस्थागत सुदृढीकरण र व्यवसायिक हितलाई प्राथमिकतामा राख्दै दुवै पक्षले मतदाता सदस्यहरूलाई आकर्षित गर्ने प्रयास तीव्र पारेका छन् ।