काठमाडौँ। अस्ट्रेलियाको सिड्नीमा ‘माघी महोत्सव २०२६’ मनाइने भएको छ । थारू समुदायको महान् पर्व माघीलाई लक्षित गरेर जनवरी १५ मा महोत्सव आयोजना गरिन लागेको हो ।
थारू समाज सिड्नीको आयोजनामा हुने माघी महोत्सव सिड्नीको इन्द्रेणी फङ्सन सेन्टर, रकडेलमा आयोजना गरिने थारू समाज सिड्नीका अध्यक्ष दीपनारायण चौधरीले जानकारी दिए ।
फर्स्टाइल होम्सको प्रस्तुति तथा द गार्डेन्स अन फरेस्ट (इन्द्रेणी ग्रुप)को सहकार्यमा आयोजना गरिने महोत्सवमा थारू मौलिक संस्कृति, वेशभूषा, परम्परागत नृत्य, सांगीतिक प्रस्तुति र विशेष परिकारको स्वाद आकर्षणका रूपमा रहनेछ । कार्यक्रममा चर्चित कलाकारको प्रस्तुति, सांस्कृतिक झाँकी तथा सामूहिक नृत्य पनि रहने आयोजकले जनाएको छ । महोत्सवले प्रवासमा रहेका यो समुदायलाई आफ्नो भाषा, संस्कृति र पहिचानसँग जोडेर राख्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकको छ ।