काठमाडौँ । विद्यार्थी नेता शरीफ उस्मान हादीको हत्यापछि बंगलादेशमा राजनीतिक हिंसा बढ्दै गएको छ। सोमबार अर्का एक नेतामाथि पनि सार्वजनिक स्थानमै गोली प्रहार भएको छ। ढाका ट्रिब्युनलाई उद्धृत गर्दै बिबिसीले जनाएअनुसार नेसनल सिटिजन्स पार्टी एनसीपीका खुलना डिभिजन प्रमुख तथा श्रमिक शक्ति केन्द्रीय संयोजक मोतेलब सिकदरमाथि बिहान करिब ११:४५ बजे खुलनाको सोनाडांगा क्षेत्रमा गोली हानिएको हो।
गोली लागेर घाइते भएका सिकदरलाई स्थानीयले उद्धार गरी खुलना मेडिकल कलेज अस्पताल पुर्याएका छन्। उनको अवस्था उपचाररत रहेको अस्पताल स्रोतले जनाएको छ। सोनाडांगा मोडेल प्रहरी चौकीका अनुसन्धान प्रमुख अनिमेष मण्डलका अनुसार अज्ञात आक्रमणकारीहरूले गोली प्रहार गरी फरार भएका छन्। घटनापछि क्षेत्रमा सुरक्षा कडा बनाइएको छ र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
यसअघि डिसेम्बर १२ मा विद्यार्थी आन्दोलनका चर्चित नेता शरीफ उस्मान हादीलाई ढाकामा मस्जिदबाट निस्कँदै गर्दा गोली हानिएको थियो। टाउकोमा गोली लागेर गम्भीर घाइते भएका हादीको डिसेम्बर १८ मा सिंगापुरमा उपचारकै क्रममा मृत्यु भएको थियो। हादीको मृत्युपछि ढाकासहित देशका विभिन्न भागमा प्रदर्शन, आगजनी र प्रहरीसँग झडपका घटना भएका थिए। घटनाले आमनिर्वाचनको संघारमा रहेको बंगलादेशको राजनीतिक अवस्था थप अस्थिर बन्दै गएको संकेत गरेको विश्लेषकहरू बताउँछन्।