काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागी गराउन १६ राजनीतिक दललाई औपचारिक निमन्त्रणा पठाइएको छ। महाधिवेशन अतिथि सत्कार समितिका सचिव महेश बर्तौलाका अनुसार संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दल तथा कम्युनिष्ट पृष्ठभूमिका दलहरूलाई अतिथिको हैसियतमा निम्तो दिइएको हो। समितिका सदस्य सुनिता बरालका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई व्यक्तिगत रूपमा भेटेर निमन्त्रणा हस्तान्तरण गरिएको छ।
यसअन्तर्गत नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, नेकपा क्रान्तिकारी माओवादी, नेकपा माले, नेपाल कम्युनिष्ट पार्टी नेकपा, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी जसपा, नागरिक उन्मुक्ति पार्टी, तराई–मधेस लोकतान्त्रिक पार्टीलगायतका दललाई निम्तो पठाइएको समितिले जनाएको छ। त्यसैगरी, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपत्यका बाहिर रहेकाले भेटेर निमन्त्रणा बुझाउने कार्य बाँकी रहेको समितिले जनाएको छ। एमालेको ११औँ महाधिवेशनको उद्घाटन समारोह आगामी मंसिर २७ गते भक्तपुरस्थित सल्लाघारीमा आयोजना हुने कार्यक्रम तय गरिएको छ।