काठमाडौँ । बैतडी जिल्लाको सूर्नया गाउँपालिका–५ कठेगौड नजिक मिनि ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। सूर्नया गाउँपालिका–४ सन्सेरीमाण्डौबाट धनगढीतर्फ जाँदै गरेको भे १ क १६३९ नम्बरको मिनि ट्रक बिहीबार राति करिब १२ बजे दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
दुर्घटनामा परेर ट्रक चालक तथा सूर्नया गाउँपालिका–४ निवासी २९ वर्षीय नरेश महराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बलदेव बडूले पुष्टि गरेका छन्। खाली ट्रकमा चालक मात्र सवार थिए र दुर्घटनापछि घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीयवासीले शुक्रबार बिहान करिब ८ बजे ट्रक सडकबाट खसेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।