काठमाडौँ । जेन–जी पुस्ताको आन्दोलनका क्रममा सरकारी सम्पत्तिमा तोडफोड र आगजनी गरी क्षति पुर्याएको आरोपमा रौतहटमा दुई जनालाई पक्राउ गरी कारबाही प्रक्रिया सुरु गरिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, गत भदौ २३–२४ गते चन्द्रपुर क्षेत्रमा भएको आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय चन्द्रपुर र त्यहाँका सवारी साधनमा गरिएको तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा चन्द्रपुर नगरपालिका–४ का ३२ वर्षीय दीपक बस्नेत र वडा नं. ८ का ४३ वर्षीय हरिनारायण चौधरीलाई पक्राउ गरिएको हो।
इलाका प्रहरी कार्यालय चन्द्रपुरले बुधबार दुबै जनालाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। उनीहरू विरुद्ध अपराधिक उपद्रव सम्बन्धी कसूरमा रौतहट जिल्ला अदालतबाट म्याद थप गराएर हिरासतमा राखिएको र अनुसन्धान जारी रहेको प्रहरी जनाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी डीएसपी विष्णुप्रदीप वस्यालले भने, अभियानका क्रममा सरकारी सम्पत्तिमा हानी पुर्याउने अन्य व्यक्तिहरूको पहिचान प्रक्रिया समेत जारी छ। आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढिरहेको छ।