काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंसिर २३ गते काठमाडौं उपत्यकामा ठूलो प्रदर्शन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि उक्त निर्णय लिइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
श्रेष्ठका अनुसार ‘राजा, राजनीतिक दल र जेनजी पुस्ताबीच नयाँ समझदारी निर्माणका लागि दबाब सिर्जना गर्ने उद्देश्यले’ उपत्यकाव्यापी विशाल प्रदर्शन आयोजना गरिनेछ। मुलुकको पछिल्ला राजनीतिक तथा आर्थिक अवस्थाबारे राप्रपाको धारणा आम जनसमुदायमा पुर्याउने उद्देश्य पनि प्रदर्शनसँग जोडिएको छ। बैठकले मुलुकको समसामयिक परिस्थितिबारे पार्टीको आधिकारिक धारणा अवगत गराउन प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्ने निर्णय गरेको पनि प्रवक्ताले बताए। साथै राप्रपाले निकट भविष्यमा देशव्यापी सभा तथा प्रदर्शनहरू गर्ने योजनासमेत अघि सारेको छ।
प्रदर्शन तथा सभा व्यवस्थापनका लागि प्रवक्ता ज्ञानेन्द्र शाही, प्रवक्ता गोपाल दाहाल, सहमहामन्त्री रवीन्द्रप्रताप शाह तथा सहमहामन्त्री धनबहादुर बुढा सदस्य रहेको समिति गठन गरिएको राप्रपाले जनाएको छ। त्यस्तै, समान विचारधारा भएका राजनीतिक दल, अभियान, समूह तथा व्यक्तिहरूसँग एकता, मोर्चा र सहकार्यका लागि वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, नेता विक्रम पाण्डे र ध्रुबबहादुर प्रधान रहेको वार्ता समिति गठन गरिएको पार्टीले जानकारी गराएको छ।