काठमाडौँ । धरान उपमहानगरपालिका–८ तीनकुनेमा गएराति भएको भीषण दुर्घटनामा एक मोटरसाइकल चालकको मृत्यु भएको छ भने अर्का सवार गम्भीर घाइते भएका छन्। सडक किनारमा रोकिराखिएको ट्रकमा तीव्र गतिमा आएको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ।
प्रदेश १–०३–००१ प १३२४ नम्बरको मोटरसाइकल प्रदेश १–०२–००१ ख ८७५७ नम्बरको ट्रकमा ठोक्किँदा इटहरी उपमहानगरपालिका–४ का २५ वर्षीय मञ्जिल लिम्बूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काले जानकारी दिए। दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार इटहरी–५ का ३२ वर्षीय अमित राई गम्भीर घाइते भएका छन्। राईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।