काठमाडौँ । लगातारको अविरल वर्षापछि भियतनाममा आएको बाढी र पहिरोले कम्तीमा ९० जनाको मृत्यु भइसकेको छ भने १२ जना अझै बेपत्ता रहेका छन्। सरकारले देशभर १ लाख ८६ हजार घरधुरी क्षतिग्रस्त भएको र ३० लाखभन्दा धेरै पशुधन बगाएको जानकारी दिएको छ। अधिकारीहरूका अनुसार बाढीका कारण सयौँ मिलियन पाउण्ड बराबरको क्षति भएको अनुमान गरिएको छ।
सबैभन्दा ठूलो प्रभाव डाक लाक नामक पर्वतीय प्रान्तमा परेको छ, जहाँ १६ नोभेम्बरयता ६० जना भन्दा बढीको ज्यान गएको एएफपी समाचार एजेन्सीले जनाएको छ। यसअघि पनि भियतनाम केही साताभित्रै काल्मेगी र बुआलोई नामक दुई भीषण हुरिकेनबाट प्रभावित भएको थियो। २ लाख ५८ हजारभन्दा बढी उपभोक्ताले आइतवार बिहानसम्म विद्युत् सेवा पाएका थिएनन्। त्यस्तै मुख्य राजमार्गका धेरै खण्ड र रेलमार्गका भागहरू अवरुद्ध भएको अधिकारीहरूले बताएका छन्।
सबैभन्दा प्रभावित पाँच प्रान्त –क्वाङ न्गाई, जिया लाई, डाक लाक, खान्ह होआ र लाम डोङ मा सेनादेखि प्रहरीसम्मका उद्धार टोली परिचालन गरिएको छ। डाक लाकका कृषक माच भान सिले एएफपीसँग भने, “हाम्रो बस्ती पूरै नष्ट भयो। केही पनि बाँकी रहेन। सबै कुरा हिलोमा पुरियो। प्रधानमन्त्री फाम मिन चिनले आइतबार बिहान दक्षिण अफ्रिकाबाट अनलाइन आपतकालीन बैठक सञ्चालन गरेका थिए, जहाँ उनी शिखर सम्मेलनमा सहभागी भइरहेका थिए।
वर्षा केही क्षेत्रहरूमा १.५ मिटरभन्दा बढी पुगेको रिपोर्ट छ भने कतिपय ठाउँमा १९९३ पछिकै उच्च ५.२ मिटर वर्षा मापन गरिएको छ। आगामी दिनहरूमा वर्षा कम हुँदै जाने अनुमान गरिएको छ। वैज्ञानिकहरूका अनुसार मानवजन्य जलवायु परिवर्तनका कारण भियतनाम अधिक जोखिममा परेको छ। यसले त्यहाँका आँधी–हुरी र चरम मौसमजन्य घटनालाई थप तीव्र र बारम्बार बनाइरहेको छ।