काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु तथा घाइते भएका पीडितका माग सम्बोधन नभएको भन्दै कञ्चनपुरका २७ वर्षीय यादव सिंह सात दिनदेखि काठमाडौंको माइतीघर मण्डलमा आमरण अनशनमा बसेका छन्। कात्तिक २५ गतेदेखि चौबीसै घन्टा सडकमै बसिरहेका उनी लिखित सहमति नआएसम्म अनशन नउठ्ने अडानमा छन्।
सिंहले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई घटनाको जिम्मेवार ठहर गर्दै तुरुन्त पक्राउ गरी कारबाही गर्नुपर्ने माग अघि सारेका छन्। उनका चार मागमध्ये सहिद परिवार र घाइतेका माग तत्काल सम्बोधन, जेनजी आन्दोलनलाई भ्रष्टाचारविरुद्धको जनआन्दोलन घोषित गर्ने तथा उच्चस्तरीय सम्पत्ति छानबिन न्यायिक आयोग गठन गर्नेका माग पनि छन्। लिखित सम्झौता नभएसम्म म सडकबाट हट्दिनँ, सिंहले भने, मौखिक आश्वासन योभन्दा अगाडि धेरै पटक तोडिएको छ, त्यसैले अब लिखित सहमति अनिवार्य छ।
अनशनको सातौँ दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव, गृहमन्त्री र स्वास्थ्य मन्त्री सिंहलाई भेट्न आएका थिए। उनीहरूले नाम हटाएर माग समायोजन गर्न सुझाएको भए पनि सिंह त्यसमा सहमत नभएको बताउँछन्। ‘म मागमा तत्कालीन प्रधानमन्त्री भनेर संशोधन गर्न तयार छु, तर सरकारले लिखित प्रतिवद्धता दिन अझै तयार छैन उनले भने।
जेनजी आन्दोलनका सक्रिय अनुहारमध्ये परेका सिंहको सशस्त्र प्रहरीको भ्यानमाथि झण्डा बोकेको तस्बिर निकै भाइरल भएको थियो। उनका अनुसार संसद भवन अगाडिको झडपमा आफ्नै अगाडि एक साथी गोली लागेर ढलेपछि आफू आवेगमा प्रहरी भ्यानमाथि चढेका थिए। विगतमा माओवादी केन्द्रसँग आवद्ध रहेका उनले पछि पार्टी छोडेर स्वतन्त्र रूपमा सामाजिक न्यायका मुद्दामा सक्रियता बढाएका छन्।
२०७५ मा कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणपछि पहिलोपटक सशक्त रूपमा सडक आन्दोलनमा उत्रिएका सिंह त्यसयता देशभरिका पीडित आन्दोलनमा सहभागी हुँदै आएका छन्। सिंहले पीडित परिवारसँग छलफल गरेर नै आमरण अनशन बसेको बताउँदै माग पूरा नभएसम्म आफू पछि नहट्ने दोहोर्याएका छन्।