काठमाडौँ । नवलपरासीको भुमहीमा सोमबार दिउँसो १ बजेतिर भएको कार दुर्घटनामा अर्घाखाँचीका मणिराम पौडेलको मृत्यु भएको छ। प्रहरीका अनुसार, बुटवलबाट पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश २३ च ५०७५ नं. को कार भुमहीको बडेरामा पुलबाट तल खोलामा खस्दा दुर्घटनाग्रस्त भएको थियो।
दुर्घटनामा पौडेल गम्भीर घाइते भएका थिए र तत्काल पृथ्वीचन्द्र अस्पताल परासी लगिएकोमा उपचारको क्रममा मृत्यु भयो। कार चालक हरिशचन्द्र पौडेल सामान्य घाइते भएका छन्। मृतक र चालक बुबा–छोरा हुन् र अर्घाखाँचीबाट काठमाडौं जाँदै थिए। इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले दुर्घटना कारको तीव्र गतिका कारण अनियन्त्रित भई पुलबाट तल खसेको अनुमान व्यक्त गरेका छन्।