काठमाडौँ । पुराना मन्दिर, मूर्तिकला, चित्रकला, हस्तकला र ऐतिहासिक सम्पत्तिको चोरी तथा अवैध तस्करी रोक्न आज विश्वभर सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ।
संयुक्त राष्ट्रसंघको आह्वानमा पाँच वर्षदेखि यस दिनलाई अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो। यसै अवसरमा युनेस्कोले नेपालजस्ता सांस्कृतिक धरोहरयुक्त देशका पुराना मन्दिर, मूर्तिकला र ऐतिहासिक भवनहरूको संरक्षणमा जोड दिएको छ।
नेपालमा पुरातत्व विभाग यस्ता सम्पत्तिको संरक्षणमा सक्रिय रहेको छ। पुरातात्विक विशेषज्ञहरूले सांस्कृतिक सम्पत्ति केवल पुराना वस्तु नभई राष्ट्रिय पहिचान र इतिहासको अभिन्न अङ्ग भएको बताएका छन्।
त्यसैले यसको सुरक्षा र संरक्षण सबैको जिम्मेवारी रहेको उनीहरूको भनाइ छ। यस अवसरमा विभिन्न निकायहरूले सचेतना फैलाउने कार्यक्रम सञ्चालन गर्ने र जनतामा सम्पत्ति संरक्षणको महत्त्वबारे जानकारी दिने योजना बनाएका छन्।