काठमाडौँ । कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले सर्वोच्च अदालतको २०८२ जेठ ७ गतेको परमादेशअनुसार जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिकाको प्रशासनिक केन्द्र वडा नं ४ लुहादहमा तोक्न संघीय सरकारसमक्ष सिफारिस गर्ने समेत निर्णय भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत प्रदेश सचिव ढोलकराज ढकाललाई सामाजिक विकास मन्त्रालयमा सचिवका रूपमा खटाउने निर्णय बैठकले गरेको प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए।