काठमाडौं । सरकारले ‘पर्यटन नीति २०८२’ ल्याएको छ । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘पर्यटन नीति २०८२’ सार्वजनिक गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले २०६५ सालको पर्यटन नीतिलाई प्रतिस्थापन गर्दै तयार पारिएको नयाँ ‘पर्यटनीति २०८२’ मा ‘अद्वितीय पर्यटकीय गन्तव्यः नेपाल’ भन्ने शब्दावली नीति संरचनाकै दृष्टिकोणको रूपमा समावेश गरिएको जानकारी गराए ।
त्यस्तै, मन्त्री पाण्डेले संविधानसभा मार्फत २०७२ सालमा जारी भएको नयाँ संविधानसँगै संघीयता कार्यान्वयन गर्न मन्त्रालय नीतिगत रूपमा अघि बढेको जानकारी दिए । उनले संस्कृति नीति र हवाई नीति हाल मन्त्रिपरिषद्को विधेयक शाखामा छलफलको चरणमा रहेको र मन्त्रालयमार्फत १३ वटा विधेयकहरू समेत अघि बढिसकेको उल्लेख गरे ।
सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न चाहेको उनले स्पष्ट पारेका छन् । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित समारोहमा ‘पर्यटनीति २०८२’ सार्वजनिक गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।