काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा सांसदहरूका नाममा कुनै योजना नराखिएको बताएका छन् । बिहीबार सार्वजनिक १९ खर्बभन्दा बढीको नयाँ बजेटबारे शुक्रबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन् ।
अघिल्ला आर्थिक वर्षमा संघीय सांसदहरूका नाममा बजेट छुट्याइँदा चर्को विरोध हुने गरेको थियो । प्रत्यक्ष र समानुपातिकसमेत सांसदहरूका नाममा छुट्याइएको बजेट कार्यकर्ता पोस्न खर्चिने गरेको भन्दै नागरिकतहबाट विरोध हुने गरेको थियो ।
संघीय सरकारले सांसदहरूलाई बजेट बाँड्ने गरेको सिको गर्दै प्रदेश सरकारले पनि त्यही अभ्यास गर्ने गरेका थिए । शुक्रबार पत्रकार सम्मेलनका क्रममा पौडेललाई सांसदहरूका नाममा बजेट छुट्टिएको नछुट्टिएकोबारे जिज्ञासा राखिएको थियो । बिहीबार संघीय संसद्को संयुक्त बैठकमा बजेट वक्तव्य दिने क्रममा पौडेलले सांसदहरूका नाममा बजेट छुट्याएकोबारे केही उच्चरण नगरेपछि उनलाई शुक्रबार पत्रकारहरूले जिज्ञासा राखेका थिए ।
यसअघि नयाँ बजेटमा सांसद् विकास कोषको पुनर्जन्म गरिएको चर्चा थियो । तर अर्थमन्त्री पौडेलले सांसदहरूका नाममा कुनै शीर्षकमा बजेट नछुट्याएको दाबी गरेका हुन् ।
यसअघि निर्वाचन क्षेत्र विकास कार्यक्रमको नाममा पैसा बाँड्ने गरिएको थियो । तर भरत जङ्गमले हालेको मुद्दामा तत्कालीन संविधानको धारा ८३ अनुसार यो कोषको रकम खर्च गर्ने सम्बन्धमा कानुनद्वारा खर्च व्यवस्थित गर्न आवश्यक व्यवस्था गर्नू भनी सरकारका नाममा निर्देशनात्मक आदेश जारी भएको थियो । तर त्यसपछि कानुनी रूपमा सांसद विकास कोषलाई विभिन्न नाममा पैसा दिने गरिएको थियो ।