काठमाडौँ । भारतको भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत एक नेपाली विद्यार्थीको निधनप्रति भारत सरकारले दुःख व्यक्त गरेको छ । भारतीय विदेश मन्त्रालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘यो कठिन घडीमा हामी शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ ।’ भारतीय विदेश मन्त्रालयले घटनाबारे जानकारी प्राप्त हुनासाथ ओडिशा राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको पनि जनाएको छ ।ओडिशा राज्य सरकारले मृतकका परिवारलाई पूर्ण सहयोग प्रदान गरेको जानकारी दिएको वक्तव्यमा उल्लेख छ ।
ओडिशा प्रहरीले अहिले उक्त घटनाको विस्तृत अनुसन्धानमा संलग्न रहेको जानकारी दिएको पनि भारतीय विदेश मन्त्रालयले भनेको छ ।भारत सरकार र विश्वविद्यालय प्रशासन सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षा, भलाइ र हितप्रति संवेदनशील रहेको मन्त्रालयले जनाएको छ।
‘हामी यस विषयमा तत्कालै सूचना आदान–प्रदान तथा समन्वयलाई सुनिश्चित गर्न नेपाली अधिकारीहरू, ओडिशा राज्य सरकार र केआईआईटी व्यवस्थापनसँग निरन्तर सम्पर्कमा छौं,’ भारतीय विदेश मन्त्रालयले भनेको छ ।बिहीबार मात्रै स्नातक तह प्रथम वर्षमा अध्ययनरत १८ वर्षीया नेपाली विद्यार्थी प्रिसा साह इन्स्टिच्युटको छात्रावासस्थित कोठामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।