काठमाडौँ । भारतको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)विश्वविद्यालय तीन महिनाको अन्तरालमा अर्की एक नेपाली विद्यार्थी प्रिसा शाह मृत भेटिएपछि ओडिसा राज्यको प्रहरी अनुसन्धानमा जुटेको छ ।
बिहीबार साँझ प्रिशा होस्टेलमा झुण्डिएको अवस्थामा मृत फेला परेको कलेजको दाबी छ । घटनाबारे मृतकका परिवार र राजदूतावासलाई प्रहरीले जानकारी गराइसकेको छ ।
भारतको ओडिसा टीभी डट इनका अनुसार भुवनेश्वर–कटक प्रहरी आयुक्त सुरेश देव दत्त सिंहले विश्वविद्यालयमा हिजो साँझ करिब ७ बजे नियमित उपस्थिति लिने क्रममा मृतक छात्रा सम्पर्कमा नआएको बताए । प्रहरीका अनुसार प्रिसा कोठामा एक्लै थिइन् । प्रहरीका अनुसार विश्वविद्यालयले त्यसपछि जाँच गर्दा उनी झुण्डिएको अवस्थामा फेला परिन् । त्यपपछि विश्वविद्यालय प्रशासनले प्रहरीलाई जानकारी गराएको थियो ।
‘बिहीबार साँझ ७ बजेतिर हाजिरी लिइँदै गर्दा कोठामा एक्लै रहेकी सम्बन्धित छात्राले कुनै प्रतिक्रिया दिइनन्। त्यसपछि, जाँच गर्दा, उनी झुण्डिएको अवस्थामा भेटिएकी थिइन्। त्यसपछि हामीलाई जानकारी गराइयो। हामी अनुसन्धान गरिरहेका छौं। एक वैज्ञानिक टोली पनि घटनास्थलमा पुगेको छ, र पीडितको कोठामा खोजी भइरहेको छ, पीडितका साथीहरू पनि उपस्थित छन् र उनीहरूले सहयोग गरिरहेका छन्,’ घटनाको बारेमा टिप्पणी गर्दै प्रहरी आयुक्त एस देव दत्ता सिंहले भने, ‘पहिलो नजरमा, शवको नजिकको वरपर कुनै नोट फेला परेको छैन। यद्यपि, वैज्ञानिक टोलीले खोजी गरिरहेको छ। कुनै उजुरी नआएकोले अप्राकृतिक मृत्युको मुद्दा दर्ता गरिएको छ।’
कुनै औपचारिक गुनासो नआएकाले अस्वाभाविक मृत्युको मुद्दा दर्ता गरिएको बताएको छ । प्रिसाका अभिभावक आज त्यहाँ पुग्ने र त्यसपछि शवको पोस्टमार्टम हुने जनाएको छ ।
केही महिनामा दुई जनाको मृत्यु
गत फेब्रुअरी १६ मा भारतीय राज्य ओडिसाको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमै अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको पनि मृत्यु भएको थियो ।
बुटवलकी लम्साल तेस्रो वर्षको कम्प्युटर विज्ञानकी विद्यार्थीको मृत्युलाई सुरुमा आत्महत्याको रूपमा अनुसन्धान गरिएको थियो, प्रहरीले सोही संस्थाका २१ वर्षीय पुरुष मेकानिकल इन्जिनियरिङ विद्यार्थीलाई पक्राउ गरेको थियो। तर यो घटना सेलाउन नपाउँदै फेरि अर्को घटनाले फेरि रहस्यमय बनेको छ ।
ओडिशा सरकारले दियो सहयोगको आश्वासन
नेपाली छात्राको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै ओडिशा सरकारले शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ र सबै सहयोगको आश्वासन दिएको छ। एक पत्र मार्फत, सूचना तथा जनसम्पर्क विभागले भनेको छ, ‘दुःखको यस घडीमा, राज्य सरकारले मृतकको परिवारलाई सहयोग गर्दछ र उनीहरूप्रति समवेदना प्रकट गर्दछ। जानकारी प्राप्त भएपछि, प्रहरी आयुक्त र राजस्व डिभिजनल कमिश्नर लगायत वरिष्ठ अधिकारीहरू दुर्भाग्यपूर्ण घटनाको कारणको बारेमा सोधपुछ गर्न र यस विषयमा आवश्यक कारबाही गर्न घटनास्थलमा पुगेका थिए। प्रमाण सङ्कलन गर्न फोरेन्सिक टोली घटनास्थलमा छ।’