विष्णु नेपाल, काठमाडौँ, १२ फागुन – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीनमा प्राडा रेशमबहादुर राना नियुक्त भएका छन्। प्रतिष्ठानका उपकुलपति प्राडा राजेन्द्रराज वाग्लेले प्रतिष्ठान ऐन, २०६८ अनुसार प्राडा रानालाई सो पदमा नियुक्ति गरेको प्रतिष्ठानले जनाएको छ।
स्वास्थ्य सहायक पदबाट स्वास्थ्य सेवा शुरु गरेका प्राडा रानाले चिकित्सा शिक्षाअन्तर्गत स्नातक, स्नातकोत्तर तथा विद्यावारिधि पूरा गरेका छन्। विभिन्न जिल्लामा स्वास्थ्य सेवा गरेका प्राडा रानाले वीर अस्पताल सेवा तथा चिकित्सा शिक्षा अध्ययन प्रतिष्ठान (न्याम्स(मा अध्यापन गर्दै आएका थिए।
साथै उनी काठमाडौँ विश्वविद्यालयको चिकित्सा शिक्षा अध्यापनमा समेत संलग्न हुँदै आएको प्रतिष्ठानले जनाएको छ। यसअघि प्रतिष्ठानले प्रतिष्ठानअन्तर्गत स्त्रीरोग विभागको प्रमुखमा प्राडा किरण रेग्मीलाई नियुक्ति गरेको थियो। प्राडा रेग्मी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पूर्वसचिव हुन्।
विसं २०४४ मा २५ दिनको सुत्केरी अवस्थामा बाग्लुङ जिल्ला अस्तपालबाट सेवा शुरु गरेकी प्राडा रेग्मीले २५ वर्ष दुर्गम जिल्लामा बसेर सेवा प्रदान गरेकी थिइन्। ‘मलाई दुर्गम क्षेत्रको स्वास्थ्य अवस्थाको पीडा राम्ररी जानकारी छ, यसलाई कसरी उठाउन सकिन्छ भनेर विश्व स्वास्थ्य सङ्गठनको सेवा नै छाडेर जुम्ला गएकी हूँ,’ प्राडा रेग्मीले भनिन्।
साथै, डा. सुनिल बुढाथोकी र डा. कमल शर्मालाई बालरोग विभागमा नियुक्ति गरिएको छ। डा. शर्मा स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवातर्फ ११औँ तहको पदबाट राजीनामा दिई जुम्ला गएको हो।
त्यसैगरी प्रतिष्ठानले एमडीजीपी कार्यक्रमको संयोजकमा यसअघि डा. तरुण पौडेललाई नियुक्ति गरेको थियो। स्वास्थ्य सेवातर्फ १२औँ तहबाट उनले अवकाश लिएका थिए।
प्रतिष्ठानले सोही कार्यक्रमका लागि डा. भोलाराम श्रेष्ठलाई नियुक्तिको तयारी गर्दैछ। यसअघि प्रतिष्ठानमा डा. निरेश थापा कार्यरत थिए। तीनै जना चिकित्सक एमडीजीपी तथा एमडी हुन्।
नेपाल मेडिकल काउन्सिलले प्रतिष्ठानलाई सो शैक्षिक कार्यक्रम सञ्चालन गर्न सिट सङ्ख्या निर्धारण गर्न ढिलाइ गरिरहेको छ। काउन्सिलले तीन पटकसम्म प्रतिष्ठानको स्थलगत अध्ययन पूरा गरिसकेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एमडीजीपी शैक्षिक कार्यक्रम सञ्चालन गर्न अगाडि बढ्न अनुमति प्रदान गरिसकेको छ।
‘एमडीजीपी तथा एमबीबीएस तहका शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक पर्ने जनशक्ति, पूर्वाधार, उपकरण तीनै दृष्टिकोणले प्रतिष्ठानले तयारी पूरा गरेको छ, अब मेडिकल काउन्सिलको अनुमतिको पर्खाइमा छौँ। सिट सङ्ख्या निर्धारणको पत्र कहिले आउला भन्ने प्रतिक्षामा छौँ,’ प्रतिष्ठानका उपकुलपति प्राडा वाग्लेले भने।
ती तहका कार्यक्रम अनुमति पाएपछि जुम्लामा पहिलो पटक चिकित्सक उत्पादन हुनेछ। प्रतिष्ठानले जुम्लामा ३ सय शय्याको अस्पताल सञ्चालन गरिरहेको छ। हाल प्रतिष्ठानले कालीकोट, मुगु, जाजरकोट, अछाम, बाजुरा, बझाङ, सुर्खेत, दैलेख, सल्यान, रुकुम (पूर्व) तथा रुकुम (पश्चिम) जिल्लामा रहेका स्वास्थ्य संस्थामा चिकित्सक अभाव हुन नदिन चिकित्सक, स्वास्थ्यकर्मी तथा उपकरणको सहयोग तथा घुम्ती विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ।
प्रतिष्ठानले प्रमाणपत्र तहमा जनरल मेडिसिन (हेल्थ असिस्टेन्ट), नर्सिङ तथा स्नातक तहमा मिडवायफरी तथा व्याचलर इन पब्लिक हेल्थ शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ। अर्कोतर्फ प्रतिष्ठानले गत वर्षदेखि नै नेपाल सरकारको उच्च प्राथमिकता प्राप्त बीमा कार्यक्रमलाई जुम्लालगायत प्रदेश नं. ६ मा कार्यान्वयन गर्न सहयोगसमेत गर्दै आएको छ।
जुम्लामा रहेको प्रतिष्ठानमा शैक्षिक एवं प्राज्ञिक सेवा तथा प्रतिष्ठानले सेवा दिने अति दुर्गम जिल्लामा स्वास्थ्य सेवा दिन अहिले ३ सय चिकित्सकले प्रतिष्ठानमा आवेदन दिएका प्रतिष्ठानले जनाएको छ।
‘प्रतिष्ठानमा सेवा दिन चिकित्सकको मोह र आकर्षण बढ्दो छ, उनीहरूको योग्यता र दक्षताका आधारमा नियुक्ति गर्छौं ,सूची तयारी गर्दैछौँ,’ उपकुलपति प्राडा वाग्लेले भने। तीमध्ये अधिकांश शहरी क्षेत्रमा कार्यरत तथा विदेश अध्ययन गरेर आएका चिकित्सक रहेको बताइएको छ।