झापा जिल्लाको शिवसताक्षी नगरपालिका र अर्जुनधारा नगरपालिकामा दुई दिनको अन्तरालमा दुई जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
अर्जुनधारामा छुरा प्रहारबाट हत्या
शनिबार राति अर्जुनधारा नगरपालिका-६ स्थित महानन्द चोकमा इलाम सूर्योदय नगरपालिका-१० फिक्कलकी १९ वर्षीया मनिषा लाहोरको छुरा प्रहारबाट हत्या भएको हो। लाहोरलाई छुरा प्रहार गर्ने अभियुक्त कैलाली गौरीगञ्ज नगरपालिका–३ का २० वर्षीय अनिल विकलाई प्रहरीले पक्राउ गरेको छ। स्थानीयले विकलाई छुरा प्रहार गरेर भाग्ने क्रममा समातेर प्रहरीलाई बुझाएका थिए। लाहोरको उपचारका क्रममा विर्तामोडस्थित विएण्डसी अस्पतालमा मृत्यु भएको हो।
शिवसताक्षीमा दाजुले दाउराले हत्या
शिवसताक्षी नगरपालिका-८ शीतलचोकमा शुक्रबार राति रामप्रसाद सिटौलाको हत्या भएको छ। प्रहरीका अनुसार, रामप्रसादलाई उनका दाजु नारायण सिटौलाले मादक पदार्थ सेवनपछि विवाद हुँदा दाउराले हानेर हत्या गरेका हुन्। नारायणलाई प्रहरीले तत्कालै पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।