काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो २६० ग्राम सुन जस्तो देखिने पदार्थसहित एक भारतीय महिला पक्राउ परेकी छन्।
भन्सार जाँचमा सुन बरामद
शुक्रबार दिउँसो १:४० बजे विमानस्थलको भन्सार इलाका यात्रु जाँच पास कक्षबाट १ किलो २६० ग्राम सुन जस्तो देखिने पदार्थ बरामद भएको हो। सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले उक्त जानकारी दिएका छन्।
बैंककबाट फर्किएकी महिला नियन्त्रणमा
पक्राउ परेकी महिला ३७ वर्षीया भारतीय नागरिक सुमित्रादेवी लक्ष्णम राम हुन्, जो बैंककबाट फर्किएकी थिइन्। थाई एयरमार्फत् बैंककबाट काठमाडौं ओर्लिएपछि उनको ब्यागेज चेकजाँच गर्दा उक्त पदार्थ फेला परेको थियो।
अर्ध तरल अवस्थामा फेला
बरामद गरिएको सुन जस्तो पदार्थ ३ छुट्टाछुट्टै पोकामा, प्लास्टिकले बेरेर अर्ध तरल अवस्थामा भेटिएको थियो। सशस्त्र प्रहरी बलको विमानस्थल भन्सार सुरक्षा वेश र भन्सार कार्यालयको संयुक्त टोलीले यसलाई बरामद गरेको हो।
थप अनुसन्धानका लागि प्रहरीमा बुझाइयो
सुमित्रादेवीलाई थप अनुसन्धानका लागि गौशाला प्रहरी वृत्तमा बुझाइएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ।