बाँके प्रहरीले एक करोड पाँच लाख ३३ हजार रुपैयाँ बराबरको अवैध सुनसहित चारजनालाई नेपालगन्जबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयको टोलीले अवैध सुनचाँदीको कारोबार भइरहेको सूचनाका आधारमा नेपालगन्ज उपमहानगरपालिका–११, बिपीचोकबाट उक्त सुन बरामद गरेको हो।
गाडीबाट सुन फेला
राजापुर नगरपालिका–८, बर्दियाका ४० वर्षीय नेपाली थारूले चलाएको प्रदेश ०३०१–०२४ च ६७६३ नम्बरको कारबाट सुन बरामद गरिएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए। उक्त गाडीमा चेकजाँच गर्दा राजापुर नगरपालिका–४ का ४२ वर्षीय निमप्रकाश सुनारको साथबाट सुनजस्तो देखिने ६७ ग्राम धातुको टुक्रा फेला परेको बताइएको छ।
अन्य बरामदगीहरू
उक्त कारमा सवार नेपालगन्ज उपमहानगरपालिका–११ का २१ वर्षीय राहुल सोनारको साथबाट १७२ ग्राम चाँदीको पायल र तारसमेत बरामद गरिएको छ। थप अनुसन्धानको क्रममा नेपालगन्ज उपमहानगरपालिका २ स्थित महेश मुराउले सञ्चालन गरेको पशुपति सुनचाँदी रिफाइन कारखानाबाट ३४० ग्राम सुनजस्तो देखिने धातु र १० किलो ४४१ ग्राम चाँदीजस्तो देखिने धातु बरामद भएको छ।
कारखानामा समेत छापा
प्रहरीले उक्त कारखानामा कार्यरत राप्तीसोनारी गाउँपालिका २, बाँकेका २४ वर्षीय ओमजंग चौधरीलाई समेत नियन्त्रणमा लिएको छ। डिएसपी डाँगीले बयान र स्थलगत अनुसन्धानबाट थप रहस्यहरू पत्ता लाग्ने सम्भावना रहेको बताएका छन्।
सुन ओसार्न प्रयोग गरिएको गाडी नियन्त्रणमा
सुन ओसार्न प्रयोग भएको कारलाई पनि नियन्त्रणमा लिइएको छ। बरामद गरिएको सुन, चाँदी, र सवारीसाधन थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय, कोहलपुरमा पठाइएको डिएसपी डाँगीले जानकारी दिएका छन्।