बर्दिवास - इलाका प्रहरी कार्यालय बर्दिवासले ६११ किलो तयारी गाँजा बरामद गरेको छ। बर्दिवास नगरपालिका १ स्थित यामाहा मोटरसाइकलको सोरुम अगाडिबाट बा.प्र.०३–००१ख–२८३२ नम्बरको नेपाली मिनि ट्रकबाट बिआर ३०जी ७०४३ नम्बरको भारतीय ट्रकमा पल्टाउँदै गरेको अवस्थामा ४० पोकामा रहेको ६११ किलो तयारी गाँजा नियन्त्रणमा लिएको हो।
पक्राउ
इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख डिएसपी रेवती रमण पोखरेलको कमाण्डमा खटेको टोलीले उक्त गाँजासहित भारतको मोतिहारी जिल्ला ग्राम पन्चायन कुरिया निवासी २५ वर्षीय गुड्डु कुमार यादव र सोहि जिल्लाको मधुरापुर बस्ने २९ वर्षीय मनिष कुमार गिरीलाई नियन्त्रणमा लिएको हो।
फरार व्यक्तिहरुको खोजी
यता गाँजा बोकेर आएको नेपाली नम्बरको मिनि ट्रकको चालक तथा अन्य सहयोगी तत्काल फरार भएकोमा उनीहरुको खोजी प्रहरीले गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुलाल प्रसाद जयसवारले बताए। उनले पुर्वपश्चिम लोकमार्गमा पुर्व सूचना प्राप्त भएपछि प्रहरीले राती चेकपोष्ट थापेको बताउँदै भारी वर्षा भइरहेको अवस्थामा प्रहरीलाई देखेर मिनि ट्रक भाग्दै गर्दा यामाहा सोरुम अगाडि हतार हतारमा गाँजा भारतीय नम्बरको ट्रकमा पल्टिँदै गरको अवस्थामा दुई थान ट्रक सहित उनीहरुलाई पक्राउ गरिएको बताए।
अनुसन्धानको म्याद
प्रहरीले जिल्ला अदालत महोत्तरीबाट अनुसन्धान गर्न ८ दिनको म्याद लिएको समेत डिएसपी जयसवारले बताए।