मकवानपुर - प्रहरीले १० किलो २५० ग्राम अवैध लागुऔषध चरेससहित दुईजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ का २६ वर्षीय हरि गौरव र नवलपरासीको पण्डितपुर बनगरिया गाउँपालिका–१ का ४३ वर्षीय अनिल भर चौधरी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार उनीहरुलाई पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१५ चुरियामाई नजिकै पिपल चौताराबाट पक्राउ गरिएको हो। हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ६ ख ५८३९ नम्बरको बसलाई रोकि जाँच गर्दा बसमा रहेका उनीहरुको साथबाट चरेस फेला परेको हो।
उनीहरुलाई शंकाको आधारमा बसबाट ओरालेर खानतलासी गर्दा उनीहरुले बोकेको झोलाभित्र कार्टुन टेपले बेरेर लुकाइ ल्याएको अवस्थाको १० किलो २५० ग्राम चरेस फेला परेको प्रहरी प्रमुख रिजालले बताए।
चरेशसहित पक्राउ परेका दुवैजनालाई जिल्ला अदालत मकवानपुरबाट १० दिनको म्याद लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए।