विराटनगर - सुनसरीको दुहवीबाट अपहरण गरिएकी ६ वर्षीया बालिकालाई प्रहरीले उद्दार गर्दै अपहरणमा संलग्न तीन जनालाई पक्राउ गरेको छ।
बालिका मंगलबार हराएकी थिइन् भने प्रहरीले बुधबार बिहान उनलाई विराटनगरबाट उद्दार गरेको हो। पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका-६ का ५० वर्षीय सञ्जय पासवान, विराटनगर-१० का ५० वर्षीय कलानन्द पासवान र ४० वर्षीया सरिता पासवान रहेका छन्।
प्रहरीका अनुसार, सञ्जयले बालिकालाई अपहरण गरी कलानन्द र सरिताको डेरामा लुकाएका थिए।
अपहरणको कारण फिरौती नभएर बालिकाको ठूलीआमालाई विदेश जान रोक्न रहेको प्रहरीले जनाएको छ। बालिकाको ठूलीआमा वैदेशिक रोजगारीका लागि काठमाडौं गएकी थिइन्। सञ्जयले बालिकाको मामालाई फोन गरेर उनकी दिदी (बालिकाको ठूलीआमा)लाई फिर्ता बोलाउन धम्की दिएका थिए।
प्रहरीका अनुसार, सञ्जय र बालिकाको ठूलीआमाबीच प्रेम सम्बन्ध थियो र सञ्जय प्रेमिकालाई विदेश जान रोक्न चाहन्थे। प्रेमिका काठमाडौं गएपछि सञ्जयले उनको बहिनीको छोरीलाई अपहरण गरेका थिए।
मंगलबार दिउँसो ३ बजेतिर हराएकी बालिकालाई प्रहरीले खोजी गर्दा बुधबार बिहान विराटनगर-१० बाट उद्दार गरेको थियो। इलाका प्रहरी कार्यालय दुहवीको टोलीले बालिकाको खोजीमा जुटेर उनीलाई सुरक्षित उद्दार गरेको हो।
सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीका अनुसार, सञ्जय पासवानले खेलिरहेको अवस्थामा बालिकालाई लिएर गएका थिए। चिनजानकै कारण बालिका सहजै उनीसँग गएकी थिइन्।
पक्राउ परेका विरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा चलाइने प्रहरीले जनाएको छ।