पाल्पा – पाल्पामा पाका उमेरका महिलाको पहिचान गरी प्रलोभनमा पारी सुनका गरगहना चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका व्यक्तिहरूमा पाल्पाको तिनाउ गाउँपालिका–३ का ६३ वर्षीय चुरामणि गाहा मगर, रूपन्देहीको ओमसतिया गाउँपालिका–५ का ५३ वर्षीय गिरीबहादुर थापा भुजेल, रूपन्देही सैनामैना नगरपालिका–८ का ४२ वर्षीय गुञ्जबहादुर मगर र रूपन्देहीको कञ्चनपुर गाउँपालिका–१ का ३३ वर्षीय लक्ष्मण कुमाल रहेका छन्।
उनीहरूले उमेर ढल्केका र सुनका गरगहना लगाएका महिलाको पहिचान गरी मिलेर उनीहरूका गरगहना नाटकीय रूपमा फुत्काउँदै आएका थिए। जिल्ला प्रहरी कार्यालय पाल्पाको मुद्दा फाँटमा कार्यरत प्रहरी निरीक्षक सन्तोष चन्दका अनुसार पक्राउ परेका चार जनामध्ये दुई जनाले विगत चार पाँच वर्ष पहिलेदेखि नै बुटवल र पाल्पा क्षेत्रमा त्यही काम गर्दै आएका थिए।
चुरामणि गाहा मगर र गिरीबहादुर थापा भुजेलले विगत चार पाँच वर्षयता बुटवल र पाल्पा क्षेत्रका सर्वसाधारण महिलालाई प्रलोभनमा पारी सुनका गरगहना फुत्काइ ठगी गर्दै आइरहेका थिए। पछिल्लो एक डेढ वर्षयता चुरामणिले आफ्ना साढु गुञ्जबहादुर मगर र सालो लक्ष्मण कुमाललाई पनि सोही ठगी धन्दामा लगाउँदै आएको खुलेको छ।
प्रहरी निरीक्षक चन्दका अनुसार ठगीको योजनामा उनीहरूले सुन जस्तै देखिने पहेंलो ढिक्का प्रयोग गर्थे। उनीहरू महिलासँग गफ गर्दै अघि बढ्दा एकजना सदस्यले पहेंलो ढिक्का भुइँमा खसाल्थे र त्यसलाई फेला पार्ने नाटक गर्थे। त्यसपछि महिलालाई प्रलोभनमा पारेर गरगहना र नगद लिएर भाग्ने योजना बनाउँथे।
ठगी धन्दामा संलग्न गिरोहले विगतमा गरेका यस्ता घटनाहरूमा महिलाहरूलाई ठगी गर्ने क्रममा ठूलो धनराशीको आश्वासन दिने र उनीहरूका गरगहना तथा नगद फुकालेर दिने बहानामा ठग्ने गरेका थिए।
प्रहरीले ठगी धन्दामा संलग्न गिरोहलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। यस घटनामा अन्य पीडितहरूलाई पनि प्रहरीमा जाहेरी दिन आग्रह गरिएको छ।