काठमाडौं - दक्षिण भारतको केरला राज्यमा मंगलबार राति गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १५८ पुगेको छ।
वायनाडा जिल्लाको मुन्दाक्कै र चोरलमालामा गएको भीषण पहिरोमा परी १८७ जना बेपत्ता भएका छन्। केरलाका मुख्यमन्त्री पिनराय विजयानले उद्दार र घाइतेको उपचार जारी रहेको बताएका छन्। उनका अनुसार ३ हजार व्यक्तिलाई उद्दार केन्द्रमा राखिएको छ। अहिले पनि भारी वर्षा भइरहेकाले उद्दारमा कठिनाइ भइरहेको छ र पुलहरू बगेका कारण समस्याहरू उत्पन्न भएका छन्।
भारी वर्षाका कारण केरलाका १४ जिल्लामध्ये १२ जिल्लाका विद्यालय र कलेज बन्द गरिएको छ। भारत सरकारले पहिरोमा ज्यान गुमाएकाहरूको परिवारलाई २ लाख र घाइतेहरूको लागि ५० हजार राहत घोषणा गरेको छ।
सन् २०१८ यतामात्रै केरलाको विभिन्न क्षेत्रमा गएको पहिरोले ४०० जनाको ज्यान गइसकेको छ। २०१९ मा अहिलेको भन्दा १० किलोमिटर पर गएको पहिरोले १७ जनाको ज्यान लिएको थियो।