जनकपुरधाम - पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ परेका व्यक्तिहरूमा रायकै घरमा काम गर्ने सर्लाहीको कविलासी नगरपालिकाका २५ वर्षीय राम उजैन राय र चन्द्रपुर गाउँपालिकाका ४६ वर्षीय वीरेन्द्र राय रहेका छन्।
सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए अनुसार, प्रारम्भिक अनुसन्धानबाट यी दुई व्यक्तिहरू पूर्वराज्यमन्त्री रायको हत्यामा संलग्न रहेको पुष्टि भएको छ। दुवैजनालाई सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी कर्तव्यज्यान मुद्दामा अनुसन्धान भइरहेको श्रेष्ठले बताए।
साउन ७ गते राति सर्लाहीको चन्द्रपुर गाउँपालिका-१, रतनपुरमा पूर्व भूमिसुधार राज्यमन्त्री रायको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो।