वीरगञ्ज । मधेश प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत साइकल खरिदमा भ्रष्टाचार गरेको प्रकरणमा तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसाल र सिनियर डिभिजनल इन्जिनियर (डीई) भगवान झा दोषी ठहर भएका छन् ।
उनीहरूलाई विशेष अदलत, काठमाडौले बिहीवार दोषी ठहर गरेको हो ।विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवरको इजलासले भुसाल र झालाई ३ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला गुनाएको हो ।
‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा १० करोड ३३ लाख रुपैयाँभन्दा बढी अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
मुद्दाका ४ जना आरोपितले भने सफाइ पाएका छन् । जसमा सहलेखापाल राजाराम मण्डल, भण्डार–जिन्सी शाखा प्रमुख रामस्वार्थ महतो, भण्डार शाखाका खरिदार जीतमोहनकुमार दास, ओम सत्य साई प्रालि वीरगञ्ज र संस्थाका प्रबन्ध निर्देशक रेनु अग्रवालले भने सफाइ पाएका छन् । दुईमध्ये एक मुद्दामा भने डिभिजनल इन्जिनियर भगवान झाले पनि सफाइ पाएका छन् । साइकल खरिदका निर्णयकर्ता तत्कालीन मुख्यमन्त्री लालबाबु राउत भने यो प्रकरणबाट जोगिएका थिए ।