बारा, ६ फागुन – अनुमतिविना नै बाराको कोल्हवी नगरपालिकामा ‘कोल्हवी सिटी हस्पिटल’ सञ्चालनमा रहेको छ। एक वर्षदेखि अवैध रूपमा अस्पताल सञ्चालनमा रहेको भए पनि सरोकारवालाहरूले भने वास्ता गरेका छैनन्।
सञ्चालक सञ्जीवकुमार यादवले कम्पनी रजिस्ट्रारको कार्यालयमा कम्पनी दर्ता गरेकै भरमा चलाइरहेका छन्। उनले यसअघि जिल्ला स्वास्थ्य कार्यालयबाट अनुमति लिएका थिएनन् भने अहिले स्थानीय तहबाट पनि सञ्चालनको अनुमति लिएका छैनन्।
जिल्ला जनस्वास्थ्य कार्यालयमा निवेदन दिएको भए पनि मापदण्ड नपुगेका कारण अनुमति नदिएको पाइएको छ।
जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत प्रेमचन्द्र जयसवालले पूर्वाधार नभएकाले सञ्चालनको अनुमति नदिइएको बताए। सञ्चालक यादवले आवेदन दिएपछि जिल्ला जनस्वास्थ्य कार्यालयले अस्पतालको अनुगमन गरेको थियो जसमा आधारभूत मापदण्डसमेत नपुगेको जनाएको छ ।
यादवले पनि दर्ता नभएको स्विकारे। ‘अहिलेसम्म दर्ता हुन सकेको छैन्। छिट्टै दर्ताको प्रक्रियामा जान्छौँ,’ सञ्चालक यादवले भने। त्यस्तै, अस्पतालले प्राविधिकविना नै एक्स–रे सेवा सञ्चालन गरिरहेकोे छ। सञ्चालक यादवले ल्याब सञ्चालनका लागि टेक्निसियन राखेको, तर एक्सरे मेसिन आफँैले चलाउने गरेको बताए। उनले यसका लागि आवश्यक शिक्षा भने लिएका छैनन्। यो समाचार नयाँ पत्रिका दैनिकमा छ।