काठमाडौँ, ५ फागुन – देशकै जेठो वीर अस्पतालमा शवगृह नहुँदा बेवारिसे शव र बिरामी एकै ठाउँमा राख्ने गरिएको छ ।
अस्पतालले इमर्जेन्सी बिरामी र कुरुवा आवतजावत गर्ने गेटमै शव राख्ने गरेको छ ।
भुइँतलास्थित आकस्मिक कक्षको मुख्य ढोकामै बेडमा छोपेर शव राख्ने गरिन्छ। कुरुवा नभएका बिरामीलाई ढोकानजिकै भित्र राखिएको हुन्छ।
यही बाटो भएर बिरामी र बिरामीका आफन्त इमर्जेन्सी, एक्स–रे, ल्याब तथा ब्लड बैंक जाने गछन। बाटोमा शव देख्दा केटाकेटी र बिरामी तर्सिने गरेको चिकित्सकहरू बताउँछन् । यो अवस्थाले बिरामीमा मानसिक र शारीरिक समस्या आउन सक्ने उनीहरू बताउँछन।
अस्पतालका इमर्जेन्सी विभाग प्रमुख डा.भोलाराम श्रेष्ठले बिरामी र शव एकै ठाउँ राख्नु बाध्यता भएको बताए। ‘अहिले वीरमा शव राख्ने ठाउँ छैन्। आफन्तले नलगुन्जेल ढोकाछेउमा पर्दाले छोपेर राख्नेबाहेक अरू काम गर्न सकिँदैन्। शवलाई बिरामी राख्ने बेडमा सँगै राख्न मिल्दैन। दिनहँु बिरामी र आफन्तको गुनासो आएको छ। तर, समाधान गर्न सक्ने तत्काल अवस्था छैन,’ डा.श्रेष्ठले भने।
लामो समय शव राख्नुपर्ने अवस्था आए फरेन्सिक मेडिसिन विभाग महाराजगन्ज र पशुपति आर्यघाटमा रहेको फ्रिजमा लैजाने गरेको उनले बताए। यो समाचार नयाँ पत्रिका दैनिकले छापेको छ।