दमौली, २ फागुन - तनहुँ शुक्लागण्डकी नगरपालिका–११ साँखेस्थित फूलबारी सामुदायिक अस्पताल ५ महिनादेखि बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन्। जनशक्ति अभावले ५ महिनादेखि अस्पताल बन्द हुँदा यस क्षेत्रका स्थानीयवासी स्वास्थ्य उपचारबाट समेत वञ्चित भएका हुन्।
मन्त्रिपरिषद्ले ढोरफिर्दी स्वास्थ्य चौकीलाई फूलबारीमा समायोजन गरेर १५ शय्याको अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरे पनि अस्पताल भने बन्द छ। अस्पताल र स्वास्थ्य चौकीको समायोजन गरी ढोर फूलबारी शहीद अस्पतालको नामबाट सञ्चालन गर्ने तयारी भए पनि जनशक्ति अभावमा अस्पताल बन्द अवस्थामा रहेको छ।
सोही वडाको राइपुर निवासी भीमबहादुर थापाले ५ महिनादेखि अस्पताल बन्द हुँदा स्वास्थ्य उपचारबाट वञ्चित हुनुपरेको गुनासो गरे। उनले भने, अस्पताल र स्वास्थ्य चौकीको समायोजन गरी १५ शय्याको सुविधासम्पन्न अस्पताल बनाउने निर्णयले जनतामा उत्साह पैदा भएको थियो, तर अहिले अस्पताल नै बन्द भएपछि स्वास्थ्य सेवा लिन अन्यन्त्रै धाउनुपर्ने स्थिति आएको छ।
उनले सरकारले छिटोभन्दा छिटो जनशक्ति उपलब्ध गराएर अस्पताल सञ्चालन गर्नुपर्ने बताए। जर्मनी स्वयंसेवीहरूको संस्था इभी कास्यलको सहयोगमा सञ्चालित सामुदायिक अस्पताल सरकारलाई हस्तान्तरण गरेलगत्तै बन्द भएको थापाले बताए। उपचारका लागि आउने बिरामी अस्पतालको मूल ढोकामा लगाएको ताल्चा हेरेर अन्यन्त्रै धाउन बाध्य छन्।
कराेडौँ रुपैयाँ खर्चिएर बनाइएको अस्पतालको भवन, यन्त्र उपकरण र औषधि प्रयोगविहीन बनेको छ। १५ शय्याको अस्पतालमा २४ जनाको दरबन्दी आवश्यक हुन्छ। सङ्घीय सरकारले आवश्यक दरबन्दी उपलब्ध नगराउँदा अस्पतालको सेवा ठप्प भएको शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले बताए।
सरकारले दरबन्दी नदिएपछि नगरले नै दरबन्दी सिर्जना गरेर अस्पताल सञ्चालन गर्ने तयारी भइरहेको उनले जानकारी दिए। उनले भने, “नगरपालिकाले एक जना एमबीबीएस डाक्टर, स्टाफ नर्स र ल्याब टेक्निसियनको अस्थायी दरबन्दी स्वीकृत गरेर नगरस्तरीय अस्पतालका रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ।
विसं २०५५ फागुनमा जर्मनी स्वयंसेवीहरूको संस्था इभी कास्यलको सहयोगमा छब्दी र भक्कलमा फूलबारी सेवा केन्द्रका रूपमा सञ्चालित अस्पताल १ दशकयता साँखेबाट सञ्चालित थियो। अस्पतालबाट तनहुँको शुक्लागण्डकी नगरपालिका र स्याङ्जाको बिरुवा, हरिनास गाउँपालिका र पुतलीबजार नगरपालिकावासीले सेवा लिँदै आएका थिए। (रासस)