काठमाडाैं - स्वास्थ्य क्षेत्रका अभियन्ता डा. गोविन्द केसीले आजदेखि अनसन सुरू गरेका छन्। केसीले दार्चुला सदरमुकाम खलंगामा अनसन थालेका हुन्। उनकाे यो १८औं अनशन हो ।
चिकित्सा शिक्षा सुधारलगायत विभिन्न विषयमा केसी पटकपटक अनशन बस्दै आएका छन्। याे पालिकाे उनकाे अनशन दुई दिनसम्म चल्नेछ।
उनले दुर्गम जिल्लाका मानिसहरुको पीडाप्रति राज्यको ध्यानाकर्षण गराउँदै त्यहाँको शिक्षा, स्वास्थ्य, यातायात र जीविकाको उचित व्यवस्था गर्न तथा भारतबाट मिचिएको नेपाली भुमि फिर्ता गर्ने प्रक्रिया तत्काल शुरु गर्न माग राखेका छन्।
यस्ता छन् केसीका माग
१. दार्चुलालगायत सीमा क्षेत्रका बासिन्दाका लागि यातायातको सहज पहुँच निर्माण गर्नुका साथै गुणस्तरीय स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था गरियोस्।
२. भारतबाट मिचिएको नेपाली भुमि फिर्ता गर्ने प्रक्रिया तत्काल शुरु गरियोस्।
३. गण्डकी प्रदेशलगायत डडेल्धुरा, बर्दिवास, उदयपुर, इलाम लगायतका ठाउँमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया द्रुत गतिमा अघि बढाइयोस्, गेटा मेडिकल कलेजलाई शीघ्र सञ्चालनमा ल्याइयोस् तथा कर्णाली र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएस कार्यक्रम सञ्चालनको व्यवस्था गरियोस् । हामीसित यस अगाडि भएका सबै सम्झौता कार्यान्वयन गरियोस्।