सप्तरी, २ फागुन – नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको र नेपाली सेनाको आयोजनामा बुधबारदेखि राजविराजमा साताव्यापी बृहत् स्वास्थ्य शिविर आरम्भ भएको छ। उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले गजेनद्रनारायण सिंह सगरमाथा अस्पतालमा एक समारोहबीच सो शिविरको उद्घाटन गरे।
उपप्रधानमन्त्री यादवले धरान र काठमाडौँझैँ सप्तरीलाई पनि स्वास्थ्य केन्द्र बनाउन सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको र मन्त्रिपरिषदबाट ऐनको मस्यौदा पारित भई काम अगाडि बढेको जानकारी दिए।
प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले शिक्षा, स्वास्थ्य, गरिबी र बेरोजगारी हटाउन सरकार प्रतिबद्ध रहेकाले विशेष लगानी गरिने प्रतिबद्धता व्यक्त गरे।
फागुन ७ गतेसम्म सञ्चालन हुने उक्त शिविरमा बिरामीको चाप बढे समयावधि थप गरिने अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताए।
शिविरमा छाती, मुटु, हाडजोर्नी, दाँत, नाक, कान, घाँटी, आँखा, छाला, स्त्रीरोग विशेषज्ञले उपचार गरिरहेका छन्। १ सय २६ विशेषज्ञ चिकित्सकसहितको टोलीले एकै स्थानमा थुप्रै रोगको उपचार गर्न थालेपछि सप्तरी, सिरहा, उदयपुर, सुनसरी तथा छिमेकी मुलुक भारतको विहारबाट समेत बिरामी सेवा लिन आएका छन्। (रासस)