भद्रपुर, १ फागुन - गरिबीसँग कहिल्यै परास्त नभएका पाँचथर फाल्गुनन्द–१ का लोकनाथ श्रेष्ठले मिर्गौलामा लागेको रोगसँग लड्न आर्थिक रूपले हार मान्नुपरेको बताएका छन्।
दुवै मिर्गौला काम नलाग्ने गरी खराब भएर हाल डाइलासिस गराइहेका २८ वर्षीय श्रेष्ठले विदेशमा पसिना बगाएर आर्जन गरेको १० धुर घडेरीसमेत बेचेर मिर्गौलाको उपचार गर्नुपरेको बताए।
झापाको मेचीनगर नगरपालिका–१२ धाइजनमा डेरा बस्दै उपचारमा धाउँदै गरेका उनका दुवै मिर्गौला काम नलाग्ने भएको विर्तामोडको बीएण्डसी हस्पिटलमा जचाएपछि ९ महिनाअघि पत्ता लागेको थियो।
त्यसपछि उनलाई चिकित्सकले अस्पतालमा भर्ना भएर डाइलासिस गर्न सुझाव दिए। सरकारले डाइलासिस निःशुल्क गराउने घोषणा गरे तापनि सरकारी सुविधाको पालो नपाएर उनले ७ महीनासम्म पूरै खर्च बेहोरेर डाइलासिस गराउनुपर्यो।
झापामा ओमसाई पाथिभरा हस्पिटल, विर्तामोडको पूर्ण टुङ्ग बिर्तासिटी र मेची अञ्चल अस्पतालमा मात्र निःशुल्क डाइलासिसको सुविधा छ। तर, बिरामीको चाप असाध्यै बढेका कारण पालो नपाएर श्रेष्ठले पूरै शुल्क तिरेर डाइलासिस गराउनुपरेको हो।
श्रेष्ठले सातामा तीन पटक डाइलासिस गर्नुपर्ने चिकित्सकको सुझाव भए पनि हाल आर्थिक कठिनाइका कारण दुई पटक मात्र डाइलासिस गराइरहेका छन्।
गरिबीका कारण १८ वर्षकै उमेरमा पहाड घर छाडेर तराई झरेका उनले मलेशियामा ४ वर्ष ग्लोब कारखानामा रोजगारी गरेको बताए। “कारखानामा काम गर्दा तातो केमिकलको वाफ सहनुपर्थ्याे,” उन भन्छन्, “अहिले चिकित्सकको कुरा सुन्दा त्यही तातो केमिकलको बाफले मेरो दुवै मिर्गौला कुहिएको रहेछ।”
मलेशियाबाट लामो घर बिदा बसेर फेरि उतै जाने तयारी गर्दा श्रेष्ठलाई आँतमा ज्वरो आएको थियो। ज्वरो जचाउँदा दुवै मिर्गौला खराब भएको पत्ता लागेको हो।
“जग्गा बेचेको १० लाख ७५ हजार रुपैयाँ पनि उपचारमा खर्च भइसक्यो,” उनले अब उपचार खर्चको अभाव भएको बताउँदै भने, “चिकित्सकले तुरुन्त डाइलासिस गर्नु भन्नुभएको छ, अब कहाँबाट पैसा जुटाउने?”
उनकी पत्नी रेशकुमारी श्रेष्ठ र ४ वर्षको छोरा अभिषेक डेरामा छन्। डेरा भाडा मासिक ३ हजार ५ सय रुपैयाँ लाग्ने गरेको छ। “उपचारको समस्या छँदैछ, अब त अहिले खाए भरे के खाने भन्ने समस्या नै भइसक्यो,” रेशकुमारी भन्छिन्। रेशकुमारी बिहान–बेलुकाको हातमुख जोर्ने जोहो गर्नका लागि १ महिनादेखि ज्याला मजदूरी काममा लागेकी छन्।
रेशकुमारीले पतिलाई मिर्गौला प्रत्यारोपणका लागि आफ्नो एउटा मिर्गौला दान गर्ने बताएकी छन्। तर, प्रत्यारोपणका लागि किरब १५ लाख रुपैयाँ खर्च लाग्ने बताइएको छ। स्थानीयवासीले उनको मिर्गौला प्रत्यारोपणका लागि खगेन्द्र आचार्य अध्यक्ष र विकास नेम्वाङ उपाध्यक्ष रहेको सहयोग समिति गठन गरेका छन्। उपाध्यक्ष नेम्वाङका अनुसार अब चन्दा उठाएर लोकनाथको जीवन बचाउन अभियान चलाउने निधो गरिएको छ । (रासस)