दुल्लु, २८ माघ - दैलेखकाे दुल्लुमा निजीक्षेत्रको लगानीमा निर्माण भएको अत्याधुनिक सुविधासहितको अस्पताल सञ्चालनमा आएको छ। दुल्लु नगरपालिकामा करिब २ करोड ५० लाख रुपैयाँको लगानीमा १५ शय्याको आशाराम अस्पतालले शनिबारदेखि आफ्नो सेवा आरम्भ गरेको छ।
दुल्लुमै विशेषज्ञ चिकित्सकद्वारा सेवा दिने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएको अस्पतालका प्रबन्ध निर्देशक कपिल खनालले जानकारी दिए। यहाँका विपन्न र आर्थिक अवस्था कमजोेर भएका नागरिकलाई उपचारका लागि सुर्खेत, नेपालगञ्जसम्म धाउनुपर्ने बाध्यता हट्ने उनको भनाइ छ।
अस्पतालमा अल्ट्रासाउन्ड, भिडियो एक्सरे सेवा उपलब्ध छ। खनालका अनुसार अस्पतालमा थाइराइड, सुगर, दिसापिसाबलगायत परीक्षण सहितको सुविधासम्पन्न प्रयोगशाला रहेको छ।
अस्पतालले आगामी दिनमा सेवासुविधा थप गरेर यहाँका आर्थिक अवस्था कमजोर भएका विपन्न नागरिकलाई सुलभ दरमा स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उनको भनाइ छ।
अस्पतालको सेवाआरम्भ भएको अवसरमा पहिलो दिन स्थानीय नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ।
अस्पतालको उद्घाटन गर्दै कर्णाली प्रदेशसभा सदस्य सुशील थापाले दुल्लुमै विशेषज्ञ चिकित्सकबाट बिरामीले उपचार सेवा पाउने बताए।
दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले दुल्लुमा विगतका दिनमा धेरै पोलिक्लिनिक सञ्चालनमा आए पनि निजीस्तरबाट पहिलोपटक अस्पताल सञ्चालनमा ल्याइनुले दुल्लु क्षेत्रका नागरिकलाई सहजता हुने बताए। (रासस)