धनगढी, २२ माघ – सुदूरपश्चिम सरकारले स्वास्थ्यकर्मीलाई कार्यालय समयमा निजी अस्पताल तथा क्लिनिकमा काम नगर्न निर्देशन दिएपनि कयौं चिकित्सक तथा नर्सहरुले सो निर्देशन उल्लंघन गरिरहेका छन्।
प्रदेश स्वास्थ्य निर्देशनालयले प्रदेश मातहतका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीलाई निर्णय कार्यान्वयन गर्न परिपत्र गरेपनि सेती अञ्चल अस्पतालमै कार्यरत स्वास्थ्यकर्मीले समेत निर्देशनको बेवास्ता गरेका छन्।
प्रदेशको स्वास्थ्य सेवालाई सुधार गर्न सबै स्वास्थ्यकर्मीलाई कार्यालय समयमा बाहिर काम नगर्न निर्देशन दिएपनि सो निर्देशन पालना हुन नसकेको सुदूरपश्चिमका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले बताए।
स्वास्थ्यकर्मीले आफै बुझेर आफ्नो कर्तव्य निर्वाह गर्नुपर्ने ठाउँमा निर्देशनालयले पत्र काटेर पुरा समय अस्पतालमा दिन निर्देशन गर्नुपरेको उनले बताए। सरकारी डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीलाई कार्यालय समयमा निजी अस्पताल र क्लिनिकमा काम नगर्न निर्देशन दिइएको उनले बताए।
कार्यालय समयमा स्वास्थ्यकर्मी निजी क्लिनिकमा जाने गरेको गुनासो बढेपछि निर्देशन दिइएको डा. अवस्थीले बताए। ‘स्वास्थ्य सबैभन्दा महत्वपूर्ण क्षेत्र भएपनि सरकारले दरबन्दी अनुसार स्वास्थ्यकर्मी नपठाउँदा बिरामीले समस्या भोगिरहेको र त्यसमा पनि डाक्टरले कार्यालय समयमा बाहिर काम गर्दा बिरामीको बिचल्ली भइरहेको छ,’ उनले भने।
कार्यालय समयमा बाहिर काम नगर्न परिपत्र गरेको करिब २ महिना पुगेको बताउँदै डा. अवस्थीले प्रदेश सरकारले यस विषयमा नियमित अनुगमन समेत गर्ने बताए।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य निर्देशनालयबाट नियमित र आकस्मिक अनुगमन हुने डाक्टर अवस्थीले बताए।
अनुगमन गर्दा कार्यालय समयमा निजी अस्पताल र क्लिनिकमा काम गरेको पाइएमा कारवाही हुने उनले बताए। कार्यालय समयमा बाहिर काम गरेको प्रमाण भेटिएमा एकपटक सचेत गराउने र पटक पटक गल्ती देखिएमा थप कारवाही हुने उनले बताए।
निर्देशनालय अन्तर्गत डडेल्धुरा उपक्षेत्रीय अस्पताल, सेती र महाकाली अञ्चल अस्पताल, प्रदेशका सबै जिल्ला अस्पताल, टीकापुर, जोगबुढा, गोकुलेश्वर, मालाखेती अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीलाई परिपत्र पठाएको थियो।