काठमाडौँ, २३ माघ – हाम्रो शरीरमा सामान्यतः तीन प्रकारका रक्तकोषिका हुन्छन्। एक-सेतो रक्तकोषिका। दुई- रातो रक्तकोषिका र तीन- प्लेटलेट्स।
यी तीन रक्तकोषिकामध्ये सेतो रक्तकोषिकाले शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउन र बाह्य सङ्क्रमणबाट शरीरलाई रक्षा गर्न मद्दत्त पुर्याउँछ। जब शरीरमा सेतो रक्तकोषिकाको मात्रा कमी हुन्छ, तब अनेकन् रोगले सङ्क्रमण गर्न थाल्छ। अर्थात्, शरीरको रोगप्रतिरोधात्मक क्षमता घट्छ।
रक्तकोषिका बन्ने र नष्ट हुने प्रक्रिया
यी कोषिका शरीरमा लगातार बन्ने र नष्ट हुने गर्छन्। कुनै पनि स्वस्थ व्यक्तिमा प्रतिघनमिलिलिटर रगतमा ५ हजारदेखि ११ हजारसम्म सेतो रक्तकोषिका हुन्छन्। एड्स, क्यान्सर तथा हेपाटाइटिसजस्ता रोग सेतो रक्तकोषिकाको मात्रामा कमीका कारण हुनसक्छ।
स्वास्थ्यवर्द्धक खानेकुरा तथा नियमित औषधि सेवनले यो कोशिकाको मात्रा बढाउन सकिन्छ। शरीरमा सेतो रक्तकोषिकाको मात्रामा कमी भएका व्यक्तिलाई ल्युकोपिनिया नामक समस्या हुनसक्छ। यो समस्या भएमा रोगबाट लड्ने शरीरको शक्तिमा कमी हुने हुन्छ र एड्स, क्यान्सर, हेपाटाइटिसजस्ता रोग लाग्ने सम्भावना बढ्न थाल्छ। भिटामिन ए, सी र ईले सेतो रक्तकोषिकालाई सही तरिकाले काम गर्न मद्दत गर्नुका साथै यिनीहरूको संख्या बढाउनसमेत मद्दत गर्छ।
त्यसैले यसको सेवनद्वारा रोग प्रतिरोधात्मक क्षमता बढ्छ र रोग लाग्नबाट बच्न सकिन्छ। यसका लागि गाँजर, गोलभेडा, खुर्सानी, जैतुनको तेल, बदाम र सुन्तला खाने गर्नुपर्छ। साथै, लसुन, ग्रीन टी, जिंक, दही र हरियो सागसब्जी खानाले पनि सेतो रक्तकोषिकाको मात्रा बढाउन सकिन्छ।
लसुन
यसमा रहेको एन्टिअक्सिडेन्ट, एन्टिव्याक्टेरियल तथा एन्टिइन्फ्लेमेन्टरी तथा एन्टिभाइरलले सेतो रक्तकोषिका निर्माण गर्न मद्दत गर्छ। र, शरीरको प्रतिरोधी क्षमतालाई बलियो बनाएर रोगसित लड्न मद्दत पुर्याउँछ।
ग्रीन टी
ग्रीन टीमा रहेको भिटामिन सी, पोलिफिनलको साथमा रहेका अन्य एन्टिअक्सिडेन्ट तत्त्वले शरीरमा रहेका व्याक्टेरियालाई नष्ट गरेर शरीरको प्रतिरोधी क्षमता मजबुत बनाउँछ र सेतो रक्तकोषिका बढाउँछ।
जिंक
शरीरमा जिंकको कमी भएमा सेतो रक्तकोषिका कम हुने गर्छ। जब कि जिंकयुक्त आहार खानाले सेतो रक्तकोषिकाको संख्या बढाउन मद्दत गर्छ। त्यसैले आहारमा सकेसम्म जिंकको मात्रा बढाउने कोशिश गर्नुपर्छ।
दही
नियमित रूपमा दही खाएमा सेतो रक्तकोषिकाको संख्या बढ्नुका साथै शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्ने गर्छ। दहीले शरीरमा एन्टिबायोटिकसरह नै काम गर्छ र रोगसँग लड्न मद्दत गर्छ।
हरियो सागसब्जी
भिटामिन वा खनिजका कारण आहारमा हरियो सागसब्जी महत्त्वपूर्ण हुन्छ। यसलाई लौह तत्त्व, भिटामिन ए, भिटामिन बी कम्प्लेक्स, भिटामिन सी, क्याल्सियम तथा फाइबर पर्याप्त मात्रामा पाइन्छ। यसमा शक्तिशाली एन्टिअक्सिडेन्ट तत्त्व हुन्छ, जसले सेतो रक्तकोषिकाको संख्या बढाउँछ। यसबाट शरीरमा क्यान्सरलाई बढाउने फ्रि रेडिकल्स बढ्न पाउँदैन।