काठमाडौं– बिहान हामी सधै नास्ता खाने गर्दछौं। नास्तामा पोषिलो खानेकुरा आवश्यक पर्दछ। त्यसका लागि अंकुरित गेडागुडी खानु उपयुक्त मानिन्छ। सजिलै पचाउन सकियोस् भन्ने उद्धेश्यले गेडागुडीलाई पानीमा भिजाउने गरिन्छ। गेडागुडीलाई अंकुरित गराउँदा यसमा रहेको पौष्टिक तत्वहरू बढ्छ र यो बिहानको खाजाको लागि बिशेष उपयोगी हुन्छ।
गेडागुडीलाई कसरी अंकुर्याउने
गेडागुडीको रुपमा हामीले प्रयोग गर्ने सबै किसिमका गेडागुडीहरुलाई कुनै भाँडामा ८ घण्टासम्म भिजाउनु पर्छ। त्यसपछि यसको पानी निकाल्नुपर्छ। यसलाई एउटा मखमल वा सूती कपडामा बाँध्नुपर्छ। यसलाई ८ घण्टासम्म यस्तै रहन दिनुपर्छ। त्यसपछि गेडागुडीमा बिस्तारै अंकुरण हुन थाल्छ।
अंकुरित गेडागुडी खाँदा ध्यान पुर्याउनुहोस्ः
अंकुरित गेडागुडी बिहानको खाजामा खाएपश्चात तुरुन्त चिया वा कफी पिउनुहुँदैन। यसलाई खाजामा वा सलादको रूपमा प्रयोग गर्न सकिन्छ। यसलाई दुई पटक सफा पानीले दुई पटक पखेल्नुपर्छ। यसकाे लागि प्रयाेग गरिने भाँडा वा कपडा सफा हुनुपर्छ।
यसले कसरी शरीरलाई फाइदा पुर्याउँछ?
विशेषगरी वजन कम गर्न चाहने मानिसहरूकाे लागि यस्ता गेडागुडी खानु फाइदाजनक मानिन्छ। यसले मानिसको उर्जा बढाउनुको साथै वजन घटाउन पनि मद्दत गर्छ। यो कम क्यालोरी युक्त खाना हो। यसमा रहेको फाइबरले भोकलाई कम गर्छ र खाना नियन्त्रण हुन्छ।
यसले मुटुलाई फिट राख्न मद्दत गर्छ। यसमा ओमेगा र फ्याट एसिडको मात्रा उच्च हुन्छ, जसले खराब कोलेस्ट्रोललाई बढ्नबाट बचाउँछ। यसले हृदयघात र स्ट्रोकबाट सुरक्षित राख्न मद्धत गर्छ। यसमा रहेकाे पोटासियमले धमनीहरूमा हुने तनावको स्थिति कम गर्छ र रगतमा अक्सिजनकाे मात्रा बढाउँछ।
यसमा रहेकाे एन्टिअक्सिडेन्ट, भिटामिन–सी, ए र प्रोटिनले फ्रि रेडिकलहरूलाई कम गरेर क्यान्सरको जोखिम कम गर्न मद्दत गर्छ।