काठमाडौं– बजारमा उपलब्ध विभिन्न ब्युटी प्रोडक्टद्वारा अनुहारलाई आकर्षक बनाउन त सकिन्छ, तर त्यस्ता प्रोडक्टको प्रभाव क्षणिक हुने गर्छ। यसको सट्टामा प्राकृतिक रूपमै उत्पादन हुने विभिन्न खानेकुराको प्रयाेगले अनुहारमा प्राकृतिक एवं दीर्घकालीन सौन्दर्य ल्याउन सकिन्छ।
छाला, अनुहार तथा सम्पूर्ण शरीरलाई स्वस्थ एवं आकर्षक राख्न सकिने त्यस्ता खानेकुरालाई चिकित्सकीय भाषामा ‘ब्युटी फुड्स’ भन्ने गरिन्छ।ब्युटी फुड्सकाे नियमित सेवनले रक्तसञ्चार सुचारु हुन्छ र अनुहारको सुन्दरतामा वृद्धि हुन्छ। यी खानेकुराको सेवनले लामो समयसम्म जवान तथा सुन्दर देखिन सकिन्छ।
ग्रीन टी– ग्रीन टीमा भरपूर मात्रामा पोलीफेनोल एन्टीअक्सिडेन्ट नामक तत्व हुन्छ, जसले छाला चाउरी पर्नबाट जोगाउँछ। ग्रीन टीको प्रयोगले मुटु सम्बन्धी समस्या तथा क्यान्सरजस्ता रोगबाट समेत बचाउँछ। यसमा पाइने प्लावोनाइट तत्व पनि छालाको लागि लाभदायक मानिन्छ। यसले शरीरमा भएका विषाक्तता कम गर्नुका साथै अतिरिक्त तौल कम गर्न मद्दत गर्छ।
अमिलो फलफूल– अमला, कागती, सुन्तला लगायतका अमिलो फलफूलले छालालाई स्वस्थ तथा सुन्दर बनाउन महत्वपूर्ण भूमिका खेल्छ। यसको सेवन एन्टीअक्सिडेन्टको रूपमा काम गर्छ। त्यति मात्र नभई यस्ता फलफूलको सेवनले छाला कोमल, नरम तथा चम्किलो हुनुका साथै सफासमेत हुने गर्छ।
गोलभेँडा– भिटामिन ‘ए’ र ‘सी’ले भरिपूर्ण टमाटरमा पर्याप्त मात्रामा पोटासियम हुन्छ। यसमा पाइने लाइकोपीन नामक तत्वले एन्टीअक्सिडेन्टको काम गर्छ। टमाटरको प्रयोगले छालालाई सर्न वर्न हुनबाट समेत जोगाउँछ।
दही– क्याल्सियम तथा फस्फोरसको खानी दहीले दाँतलाई मजबुती प्रदान गर्नुका साथै दाँतको क्याविटी हुनबाट बचाउँछ। दहीको नियमित प्रयोगले छाला चम्किलो हुनुका साथै नरम हुन्छ। यसले ओस्टियोपोरोसिस हुनबाट समेत रोक्छ। दहीलाई फेसमास्कको रूपमा समेत प्रयोग गर्न सकिन्छ।
सफा अनुहारमा फिटेको दही करिब दश मिनेटसम्म मालिस गरी लगाउनाले अनुहार चम्किलो हुन्छ। आधा कम फुल फ्याट दहीमा तीन ठूलो चम्चा मह र एउटा अण्डाको पहेलो भाग हालेर त्यसलाई राम्ररी घोलेर कपालमा करिब १५ मिनेट राख्नाले कपाल आकर्षक तथा मुलायम हुने गर्छ।
गाजर र चुकन्दर– गाजर तथा चुकन्दर महत्वपूर्ण भिटामिन तथा खनिज पदार्थले भरिपूर्ण हुन्छ। यिनले एन्टी एजिङ्ग हुनबाट रोक्नुका साथै छालाको बाहिरी सतहलाई स्वस्थ राख्न मद्दत गर्छ। दुई साता लगातार गाजर वा चुकन्दरको रस नियमित सेवन गर्नाले छालामा नसोचेको परिवर्तन देखा पर्छ।
सखरखण्ड– सखरखण्डमा पर्याप्त मात्रामा भिटामिन ‘ए’ पाइन्छ। त्यसैले यसलाई ‘एन्टी एजिङ्ग फुड’ पनि भन्ने गरिन्छ। एन्टी एजिङ्ग तत्व भएकै कारण यसको नियमित सेवनले छाला चिल्लो नरम, मुलायम तथा चमकदार हुने गर्छ।
लसुन– लसुनले चाउरीपना हुनबाट रोक्नुका साथै छालामा नयाँ कोषिका उत्पादन गर्ने तथा विषाक्तताबाट छालालाई जोगाउँछ। दिनमा एकर दुई पोटी लसुन खाली पेटमा सेवन गर्नाले छाला सम्बन्धी समस्या कम हुने गर्छ। अनुहारमा डण्डीफोर छ भने त्यसमा लसुनको पोटी दल्दा समस्या कम हुन्छ।
उमारिएको गहुँ– दिनमा दुईदेखि तीन चम्चा गहुँलाई उमारेर तयार पारिएको टुसालाई खानामा समावेश गर्नाले डण्डीफोर, एक्ने लगायतका छाला सम्बन्धी विभिन्न समस्याबाट छुटकारा पाउन सकिन्छ। साथै, यसको नियमित सेवनले छालालाई सुन्दर बनाउन सकिन्छ। गहुँको टुसालाई दही, पनीर आदिमा मिलाएर पनि सेवन गर्न सकिन्छ।
ओख्खर र आलस– ओख्खर तथा आलसमा पर्याप्त मात्रामा ओमेगा(३ फ्याटी एसिड पाइन्छ। फ्याटी एसिडले छाला, कपाल तथा हड्डीलाई पोषण प्रदान गर्छ। यसले छाला सम्बन्धी समस्याहरूबाट समेत बचाउँछ।
डार्क चकलेट– डार्क चकलेट पौष्टिकता तथा एन्टी अक्सिडेन्ट तत्वले भरिपूर्ण हुन्छ। चकलेटको सेवनले घामको विकीरणबाट छालामा पार्ने असरबाट बचाउनुका साथै रक्तसञ्चार बनाउँछ। यी बाहेक किसमिस, रातो वा पहेलो भेँडे खुर्सानी, ब्रोकाउली, मेवा तथा बदामको प्रयोगले पनि सौन्दर्यमा निखार ल्याउन ठूलो सहयोग पुर्याउँछ।