काठमाडौं– परिवारलाई एउटा सूत्रमा बाँधेर राख्ने ताकत परिवारका अरु सदस्यसँग हुँदैन। किनभने, आमा भनेकी आस्था हुन्, आदर्श हुन्, विश्वास हुन्। हो यीनै आमा, जो कसैकी छोरी हुन, कसैकी श्रीमति, कसैकी बुहारी हुन त कसैकी भाउजु हुन सक्छिन्।
यी अनेक भूमिकाभित्र बाँच्नुपर्ने आमाले, सबै भूमिकालाई उत्तिकै कुशलतापूर्वक निर्वाह गर्नुपर्ने पनि आमाले, अक्सर हाम्रो पारिवारिक संरचना अनुसार घर–परिवार धान्ने जिम्मा आमाको हुन्छ। आधुनिक समाजमा लैंगिक समानताको कुराले महत्व पाएको छ। पति–पत्नीको भूमिका, महत्व, सराबरी हुने तर्क, भलै व्यवहारको हिसाबले लैंगिक समानताको कुरा सही मान्न सकिएला।
तर, आमासँग परिवारको जुन किसिमको भावनात्मक सम्बन्ध हुन्छ, त्यस हिसाबले आमाको जिम्मेवारी र भूमिका अलि बढी नै हुन्छ। त्यसैले समग्र परिवारलाई कसरी दिशानिर्देश गर्ने भन्ने कुरामा आमाले अहंम भूमिका निर्वाह गर्न सक्छिन्।
आमाको महत्वः
कुनैपनि परिवारमा हेरौं, जहाँ आमा विशेष हुन्छिन्। यदि आमा नहुँदो हो वा आमालाई आमाको महत्व नदिने हो भने, त्यो परिवार विथोलिन्छ। लथालिंग भताभुङ्ग हुन्छ। परिवार–परिवार रहदैन, सबै आफुखुसी गर्छन्। परिवारको संभावित विखण्डनबाट बचाउँन आमाको उपस्थिती मात्र पनि काफी हुन्छ। जहाँ आमा हुन्छ, त्यहाँ आस्था, विश्वास र प्रेम हुन्छ। जहाँ आस्था, विश्वास र प्रेम हुन्छ, त्यहाँ परस्पर सम्बन्ध सुमधुर र मिठासपूर्ण हुन्छ।
पारिवारिक सुखका लागि आमाः
परिवारलाई कसरी सुखी राख्ने भन्ने कुरा आमाकै हातमा हुन्छ। हुन त हरेक सन्तानलाई आमाले नियन्त्रण वा निर्देशन गर्न सक्छ भन्ने होइन। यद्यपी समग्र परिवारको लय वा तालमेल कसरी मिलाउने भन्ने कुरामा आमाले खास भूमिका खेल्न सक्छिन्।
जीवनमा अनेक उतार–चढाव आउँछ, मनमुटाव हुन्छ, रिस–राग पैदा हुन्छ। यी सबै मानविय गुण हुन् स्वभाविक र सामान्य कुरा हुन्। तर, सानातिना असमझदारी, मनमुटावले परिवारिक संरचना विथोल्न सक्छ। आफु(आफुमा फाटो ल्याउन सक्छ। यस्तो अवस्था आउन नदिनका लागि आमा नै न्यायमूर्तिको भूमिकामा रहनु पर्छ।
पारिवारिक स्वास्थ्यका लागि आमाः
परिवारको स्वास्थ्यमा आमाको खास भूमिका हुन्छ। त्यही आमा हुन्, जसले बाल्यकालमा तेलले मालिस गरेर हाम्रो मांसपेशी बलियो बनाइदिइन्। त्यही आमा हुन्, जसले पोषिलो खानेकुरा ख्वाएर हामीलाई पालन–पोषण गरिन्।
कुनै पनि घर–परिवारको खान्कीमा आमाले नियन्त्रण र निर्देशन गर्न सक्छिन्। आफ्नो भान्समा के पकाउने, कसरी पकाउने भन्ने कुरा आमाकै हातमा हुन्छ। रोग–कष्टमा कस्तो निदान खोज्ने भन्ने कुरामा पनि आमाको अनुभव काम लाग्छ।