काठमाडौं– जाडोमा शरीरको तापमानको सन्तुलन मिलाउन तातो खानेकुरा खानुपर्छ। खासगरी तातो सुप, तातो पानी पर्याप्त सेवन गर्नुपर्छ। यसले शरीरलाई न्यानो राख्न सघाउँछ। यतिबेला मौसमी फलहरुमा सुन्तला लगायत सखरखण्ड, पिँडालु जस्ता कन्दमुल पाइन्छ। जाडोको मौसममा यस्ता खानेकुरा सेवन गर्नुपर्छ, जो प्रकृतिले दिएको छ।
मह र अदुवाको सेवनः
जाडोमा मह र अदुवाको मिश्रण निकै उपयोगी हुन्छ। अदुवा मिसाएर तताएको पानीमा मह घोलेर पिएमा स्वास्थ्यलाई राम्रो गर्छ। यसले श्वासप्रश्वास सम्वन्धि समस्याहरुलाई सजिलै हटाउँछ। यसले प्रतिरोधक क्षमतालाई बढाउनुका साथसाथै क्यान्सरजस्तो डरलाग्दो रोगबाट पनि बचाउ गर्छ।
सुख्खा अदुवाको धुलोलाई तातो पानीमा राम्ररी उमालेर पाँच मिनेटजति ढक्कनले छोप्नुपर्छ। त्यसमा एक सय ग्राम जति शख्खर हालेर सेवन गरेमा चिसो लागेको, टाउको दुखेको, नाक बन्द भएको, पिनास, श्वास नली बन्द भएको समस्यामा ठीक गर्छ।
बिहानको घाममा बसौंः
बिहानको घाममा भिटामिन डि प्राप्त हुन्छ। शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने अर्को माध्यम भनेको भिटामिन डी पनि हो। शरीरको लागि निकै महत्वपूर्ण मानिएको भिटामिन डी ले शरीरमा रोगसंग लड्ने क्षमता बढाँउछ। विहानको समयमा सुर्यको किरणमा केहीबेर बसेर वा भिटामिन डी युक्त खानेकुराको सेवनद्धारा शरीरमा हुने भिटामिन डीको कमीलाई पूरा गर्न र शरीरलाई स्वस्थ बनाउन सकिन्छ।
कपालको सौन्दर्यः
प्रायः जाडोमा सबैले टोपीलगाउने गर्दछन्। तर टोपीले गुम्साएर कपाललाई कमजोर बनाउँछ। त्यसमाथि चायाँको प्रकोपले थप सताउँछ। चायाँको कारण टाउको चिलाउने मात्र होइन, कपालको सौन्दर्य नै हराउँछ।
बच्नका लागि केहि घरेलु विधीः
कपालका लागि एकदमै लाभप्रद मह र जैतुनको तेल, यसको प्रयोगबाट कपाललाई मजबुतिका साथै चमक प्राप्त हुन्छ। कपालको सरसफाईमा पनि ध्यान दिनुपर्दछ र पोषणयुक्त खानेकुरा खानु पर्दछ। कपाललाई लामो समय सम्म गुम्साउनु हुँदैन।
जाडोमा व्यायामः
ताप वा न्यानो शरीरभित्रै छ, आगो तापेर वा हिटरमा बसेर शरीरलाई क्षणिक रुपमा तातो बनाउन सकिन्छ। यद्यपी त्यो भन्दा राम्रो उपाय भनेको शारीरिक गतिविधि हो। एकै ठाउँ बसेर आगो वा हिटर ताप्नु वा सिरकभित्र गुम्सिएर बस्नुभन्दा शारीरिक श्रम निर्भर हुनु राम्रो हुन्छ।
जाडोमा बिहानै घर बाहिर निस्कनु राम्रो मानिदैन। खासगरी काठमाडौंमा चिसोको मौसममा वायु प्रदूषणको खतरा बढी हुने गर्छ। बिहानको समयमा जमिनको सतहमा धूलो–धूँवा थेग्रिएर रहने भएकाले बिहानै मर्निङवाक गर्न नहुने चिकित्सकहरुले सुझाव दिने गरेका छन्।