दुर्गा देवकोटा
लम्की, २१ माघ - टीकापुर अस्पतालमा सुत्केरी भएका ५ सय ६६ जनाले सुत्केरी भत्ता पाउन सकेका छैनन्। अस्पतालमा आमा सुरक्षा कार्यक्रमका लागि आवश्यक बजेट नआएका कारण उनीहरू सुत्केरी भत्ताबाट वञ्चित भएका हुन्।
अस्पतालले चालू आर्थिक वर्षको साउनदेखि सुत्केरी भत्ता उपलब्ध गराउन सकेको छैन। अस्पतालले सुत्केरीलाई यातायात खर्चवापत १ हजार र नियमित गर्भजाँच गरेवापत ८ सय रुपैयाँ उपलब्ध गराउँदै आएको थियो। सरकारले स्वास्थ्य संस्थामा सुत्केरी गराउनेलाई प्रोत्साहनस्वरूप तथा र मातृ मृत्युदर घटाउन २०६५ सालदेखि आमा सुरक्षा कार्यक्रम लागू गरेको हो।
अस्पतालमा साउनदेखि माघ २० गतेसम्म १ हजार १ सय ३७ जना सुत्केरी भएका छन्। ५ सय ७१ सुत्केरीलाई टीकापुर नगरपालिकाले उपलब्ध गराएको १२ लाख रुपैयाँ वितरण गरिएको अस्पतालका प्राविधिक मुखिया मोहनसिंह साउदले बताए।
उनले भने, “प्रदेश सरकारले बजेट उपलब्ध गराउने आश्वासन दिएको थियो, बजेट नआएपछि नगरपालिकालाई भन्यौँ। नगरपालिकाले दिएको १२ लाख रुपैयाँ १० दिनमै सकियो।” साउनमा सुत्केरी भएकालाई अझै भत्ता दिन बाँकी रहेको साउदले बताए।
टीकापुर अस्पतालले आमा सुरक्षाका लागि आवश्यक पर्ने बजेटका लागि स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारलाई गुहार्दै आएको छ। “साउनमा सुत्केरी भएकालाई ६ महीनापछि पाएको रकमले के काम?,” सिनियर स्टाफ नर्स कल्पना खड्काले भनिन्।
साउनमा सुत्केरी भएकी जानकी गाउँपालिकाकी कल्पना देवकोटाले तीनपटकसम्म भत्ता लिन अस्पताल गए पनि पाउन नसकेको बताइन्। “मसँगै सुत्केरी भएका अन्यले पनि भत्ता पाएका छैनन्,” उनले भनिन्।
साउनमै सुत्केरी भएकी गीता विष्टले सरकारले आमाको स्वास्थ्यमा ध्यान नदिएको गुनासो गरिन्। साउनदेखि सुत्केरीले भत्ता पाउन नसकेपछि टीकापुर नगरपालिकाको स्वास्थ्य शाखाले नगरकार्यपालिकासँग २५ लाख रुपैयाँ बजेट माग गरेको छ।
स्वास्थ्य शाखाका संयोजक बलबहादुर रावलले कार्यपालिकामा माग पेश गरेको बताए। “कार्यपालिका बैठकले बजेट छुट्याउने आश्वासन पाएका छौँ,” उनले भने। प्रदेश सरकारको लापरवाहीका कारण अस्पतालमा सुत्केरी भएकाले भत्ता पाउन नसकेको उनको आरोप छ। (रासस)