सुरुङ्गा (झापा)_ झापाको विर्तामोडमा आजबाट अत्याधुनिक उपकरणसहितको पूर्वाञ्चल क्यान्सर अस्पतालले सेवा शुरु गरेको छ। रु चार अर्बको लगानी गर्दै सञ्चालनमा ल्याइएको अस्पताल पूर्वाञ्चलकै पहिलो क्यान्सर अस्पताल हो। कूल ३०० श्ययाको अस्पतालले ठूलो आन्द्राको क्यान्सर भएका २९ वर्षीय पदम मिश्रलाई निःशुल्क उपचार गर्दै सेवा शुरु गरेको हो।
पूर्वलाई ‘मेडिकल हब’ बनाउने उद्देश्यसहित क्यान्सर अस्पताल सञ्चालनमा ल्याइएको अस्पताल सञ्चालक दुर्गा प्रसाईंले बताए। अस्पताल उद्घाटन कार्यक्रममा सञ्चालक प्रसाईंले भन्नुभयो, “अब क्यान्सरको उपचारका लागि नेपाली विदेश जानुपर्दैन। अत्याधुनिक उपकरणसहित नेपालमै पहिलो पटक क्यान्सरको उपचारका लागि चाहिने उपकरणसहित अस्पतालले सेवा शुरु गरेको छ।”
विशिष्ठकृत सेवा दिने उद्देश्यले अस्पताल सञ्चालनमा आएको पूर्वाञ्चल क्यासर अस्पतालका मेडिकल डाइरेक्टर डा वीरेन्द्रकुमार यादवले बताए। उनले चने, “मैले लामो समयसम्म भारतको मेदान्ता अस्पतालमा काम गर्दा त्यहाँ धेरै क्यान्सरका नेपाली बिरामी भेटे, उनीहरु सबै नेपालमा क्यान्सरको राम्रो उपचार नभएका कारण भारत पुगेका हुन्। तर, अव क्यान्सरको उपचारका लागि कोही पनि भारत जानुपर्दैन सबै प्रकारको उपचार यही हुन्छ।”अस्पतालले रेडियो थेरापी, पेट सिटिस्क्यान, थ्रिडी मेमोग्रामलगायतका अत्याधुनिक उपकरणबाट क्यान्सरको उपचार गर्ने बताइएको छ। डा निराजन पराजुलीले क्यान्सरका बिरामीलाई अन्यत्र पठाउनुपर्ने अवस्था नरहेको दाबी गरे।
काठमाडौँबाहिर पनि क्यान्सरको उपचार सम्भव हुने भन्दै अव पूर्वका बिरामीलाई धेरै फाइदा हुने उनले धारणा राख्नु भयो। झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले पूर्वाञ्चल क्यान्सर अस्पताल पूर्वकै गहना भएको उल्लेख गरे। रासस