काठमाडौँ– चिसो मौसममा प्रायः हामी सबैलाई रुघाखोकी लाग्छ। हामी ठान्छौँ, चिसोका कारण यस्तो भयो। स्वभाविकै हो, चिसोले खोकीको समस्या निम्त्याउँछ। तर, खोकी लाग्नुमा चिसो मात्र नभई अनेक कारण हुनसक्छ। यदि लगातार खोकी लागिरहन्छ भने हमीले अन्य कुरामा पनि ध्यान पुर्याउनुपर्छ।
सामान्यतः चिसोमा खोकीको समस्या धेरै हुने गर्छ। यस्ता खोकी पाँचदेखि सात दिनभित्र आफैँ निको हुन्छ। त्यसैले मानिसहरू यस्ता खोकीलाई गम्भीरतापूर्वक लिँदैनन्। कतिपयले यस्ता खोकीको घरमै उपचार गर्छन्। सामान्य रुघाखोकीमा सामान्य औषधि प्रयोगले खासै असर गर्दैन। तर, लामो समयसम्म खोकी लागेमा, खोकी लगातार लागेमा तथा औषधिले पनि खोकी लाग्न कम नभएमा भने तुरुन्तै चिकित्सकलाई देखाउनु पर्छ। किनकी हेर्दा सामान्य लाग्ने यस्ता समस्या कतिबेला गम्भीर बन्ने गर्छ, कसैलाई थाहा हुँदैन।
फ्लुका कारण यो समस्या देखिएमा प्रशस्त मात्रामा झोलिलो पदार्थ सेवन गर्नुका साथै आरामसमेत गर्नुपर्दछ । यसबाट यस्तो खोकी एक साताभित्रै निको हुन्छ। विशेषगरी, खोकीका साथ ज्वरो आई श्वास लिन कठिन हुनुका साथै खकारमा रगत देखिए सर्तक हुनुपर्छ। किनकी, निमोनियाजस्ता फोक्सोको सङ्क्रमणका कारण पनि यी लक्षण देखापर्ने गर्छ। यसको निदानका लागि एन्टिबायोटिक औषधि सेवन जरुरी हुन्छ।